२०८३ श्रावण ३० गते , शनिबार

झापाका नविनलाई अपहरण गरी १८ लाख फिरौती माग्ने ७ जना पक्राउ

sajilo news
काठमाडौं
२०८३ श्रावण २९ गते , शुक्रबार
झापाका नविनलाई अपहरण गरी १८ लाख फिरौती माग्ने ७ जना पक्राउ

झापा शिवसताक्षीका एक व्यक्तिलाई अपहरण गरी १८ लाख रुपैयाँ फिरौती माग्ने ७ जना पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका- १० माईधार घर भई हाल काठमाडौँ महानगरपालिका-२६ मित्रनगर बस्ने नवीन रायालाई हिजो अपरिचित ५/६ जनाको समूहले अपहरण गरेका थिए । उनलाई कुटपिट समेत गरी अपहरणकर्ताबाट पीडित परिवारसँग १८ लाख रुपैयाँ फिरौती माग गरिएको थियो । त्यसबारे गोप्य सूचना काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्राप्त भएको थियो ।

त्यस कार्यालयबाट तत्काल पीडितको उद्धार गरी अपहरणकर्तालाई नियन्त्रणमा लिन विशेष टोली परिचालन गरिएको थियो । त्यस कार्यालयबाट खटिएको टोलीले हिजो साँझ ६ः३० बजे काठमाडौँ नागार्जुन वडा नं. ५ छग्डोलबाट अपहरण भएका रायालाई सकुशल उद्धार गरेको थियो ।

घटनामा संलग्न रामेछाप लिखु तामाकोसी वडा नं. ३ बस्ने ३२ वर्षीय मनोज बुढाथोकी,सर्लाही लालबन्दी वडा न.४ बस्ने २२ वर्षीय जेनिश चौधरी, चितवन राप्ती नगरपालिका वडा न. २ बस्ने २४ वर्षीय अमित ओली , काभ्रेपलान्चोक भुम्लु वडा न. ८ बस्ने २३ वर्षीय देवकुमार श्रेष्ठ , मकवानपुर बाग्मती वडा नं. ५ फापरवारि बस्ने २० वर्षीय निशान रुम्बा तामाङ, ओखलढुङ्गा लिखु वडा न. ५ बस्ने २४ वर्षीय निमेश कार्की र अर्घाखाँची मालारानी वडा नं. ३ बस्ने २२ वर्षीय प्रदीप पोखरेललाई पक्राउ गरेको हो ।

घटनामा संलग्न उनीहरूलाई थप अनुसन्धान तथा कारबाईको लागि आज काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद लिई अनुसन्धान कार्य जारी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार