२०८३ श्रावण २७ गते , बुधबार

भूकम्पमा पुरिएकी महिलाको ३६ घण्टापछि जीवितै उद्धार

sajilo news
एजेन्सी
२०८३ श्रावण २७ गते , बुधबार
भूकम्पमा पुरिएकी महिलाको ३६ घण्टापछि जीवितै उद्धार

पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको भूकम्पपछि ३६ घण्टासम्म भग्नावशेषमा फसेकी ३२ वर्षीया महिलाको जीवितै उद्धार गरिएको छ। पेरेइरा सहरमा भत्किएको भवनको भग्नावशेषमा फसेकी डेनिएला लार्गोलाई करिब १० घण्टासम्म चलेको उद्धार अभियानपछि जीवितै बाहिर निकालिएको हो।

उद्धारकर्मीहरूले चारवटा भारी कंक्रिट स्ल्याबमुनि पुरिएकी लार्गोसम्म पुग्न सुरुङ खनेका थिए। त्यसपछि उनलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

आधिकारिक तथ्यांकअनुसार पश्चिमी कोलम्बियामा गएको भूकम्पमा कम्तीमा १८८ जनाको मृत्यु भएको छ भने सयौँ मानिस अझै बेपत्ता छन्। कोलम्बियाको प्रमुख कफी उत्पादक क्षेत्रमा पर्ने पेरेइरा सहरमा मात्रै ७९ जनाको मृत्यु पुष्टि भएको छ।

लार्गोकी आमाले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार एक स्थानीय बासिन्दाले भग्नावशेषमुनिबाट उनकी छोरीले सहयोगका लागि गुहार मागिरहेको आवाज सुनेका थिए। आपत्कालीन उद्धार टोली घटनास्थलमा पुगेपछि सानो क्यामेराको सहायताले लार्गोको अवस्थाबारे पत्ता लगाइएको थियो।

तर, उनलाई बाहिर निकाल्न निकै कठिन भएको थियो। उद्धारको बाटोमा चारवटा भारी कंक्रिटका स्ल्याब रहेका कारण उद्धारकर्मीहरूले निकै सावधानीपूर्वक काम गर्नुपरेको थियो। 

सम्बन्धित समाचार