२०८३ श्रावण २७ गते , बुधबार

हाजिरी मिलाएर साढे ३ लाख बढी तलब निकासा गर्ने प्रधानाध्यापक र शिक्षिकाविरुद्ध मुद्दा

sajilo news
झापा
२०८३ श्रावण २७ गते , बुधबार
हाजिरी मिलाएर साढे ३ लाख बढी तलब निकासा गर्ने प्रधानाध्यापक र शिक्षिकाविरुद्ध मुद्दा

सर्लाहीको मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षिका प्रियंका कुमारी सिंहविरुद्ध सरकारी रकम हिनामिना तथा सरकारी कागजात सच्याएको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा आरोप -पत्र दायर गरेको हो।

आयोगका अनुसार शिक्षिका सिंह २०७९ साल वैशाखदेखि कार्त्तिक १८ गतेसम्म विद्यालयमा अनुपस्थित रहेपनि तत्कालीन प्रधानाध्यापक यादवले कारवाही गर्नुको सट्टा हाजिरी र बिदासम्बन्धी अभिलेख अध्यावधिक नगरी एकमुष्ट हाजिर गराएका थिए।

अनुसन्धानका क्रममा विद्यालयको हाजिरी रजिस्टरमा टिपेक्स लगाइ पुन:हाजिर गर्न लगाइ अनुपस्थित अवधिको हाजिरी विवरण मलंगवा नगरपालिकामा पेश गरी तलब निकासा माग गरिएको खुलेको आयोगको दावी छ।

आयोगका अनुसार शिक्षिका सिंहको नाममा २ लाख ९० हजार ४३४ छुट तलब निकासा भएको  थियो। शिक्षिका सिंह अनुपस्थित भएको अवधि श्रावणदेखि कार्त्तिसम्म जम्मा २ लाख ४० हजार ९१४  र २०७९ सालको वैशाख,जेष्ठ र असार महिनाको जम्मा १ लाख ३० हजार  १२१ रुपैयाँ गैरकानुनीरुपमा निकासा भएको आयोगको जिकिर छ।

सो कार्यबाट प्रधानाध्यापक यादव र शिक्षिका सिंहले एकआपसमा मिलोमतो गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी,हिनामिना  तथा दुरुपयोग गरेको अख्तियारले जनाएको छ।

दुवैजनाविरुद्ध ३ लाख ७१ हजार ३६ रुपैयाँ विगो तथा कैद र जरिवानाको माग गरिएको आरोप -पत्रमा उल्लेख छ। साथै सरकारी कागजात सच्याउनेसम्बन्धी कसुरमा पनि कैद र जरिवानाको मागदावी गरिएको आयोगले जनाएको छ।

सम्बन्धित समाचार