२०८३ श्रावण २५ गते , सोमबार

झापाको कचनकवलमा साढे ९ लाखको औषधिसहित इभी कार नियन्त्रणमा

sajilo news
पार्थ मण्डल
२०८३ श्रावण २५ गते , सोमबार
झापाको कचनकवलमा साढे ९ लाखको औषधिसहित इभी कार नियन्त्रणमा

झापा ।  दक्षिणी झापाको कचनकवलबाट प्रतिबन्धित भारतीय ब्रान्डका औषधिहरू बोकेको एउटा इभी गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म घेराबारीबाट खटिएको टोलीले आज बिहान १०:५५ बजेको समयमा कचनकवल गाउँपालिका–३ बगानमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ च १०१७ नम्बरको इभी कारलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो। 

प्रहरी टोलीले चेकजाँच गर्न थालेपछि चालक तथा सम्बन्धित व्यक्ति गाडी र सामान छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। कार चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको विभिन्न प्रकारका ५ कार्टुन औषधि फेला परेको थियो।

बरामद औषधिको भन्सार मूल्य ९ लाख ६७ हजार ३९० रुपैयाँ तथा कारको मूल्य २१ लाख ५० हजार रुपैयाँ गरी कुल ३१ लाख १७ हजार ३९० रुपैयाँ बराबरको सामान तथा सवारी साधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाका निमित्त गणपति तथा  सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिए। 

बरामद औषधि र कारलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइसकेको उनले बताए।  यसैगरी, मेचीनगर नगरपालिका–७ स्थित जोरसिमल र मेचीनगर–६ स्थित भन्सार ढाट क्षेत्रमा सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको चेक प्वाइन्ट टोलीले विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको किराना सामान, लत्ताकपडा तथा प्रदेश १–०१–००२ ह ६७९६ नम्बरको सिटी सफारी नियन्त्रणमा  लिएको  छ।

बरामद सामान तथा सिटी सफारीको भन्सार मूल्य रु. ४ लाख ५५ हजार ७७५ बराबर रहेको छ। उक्त सामान र सफारीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको जनाइएको  छ।

सम्बन्धित समाचार