२०८३ श्रावण २२ गते , शुक्रबार

भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण हुँदैछ

sajilo news
रासस
२०८३ श्रावण २२ गते , शुक्रबार
भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण हुँदैछ

झापा । तीन वर्षअघि बाढीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलाको पुल पुनर्निर्माण हुने भएको छ । बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडकखण्डअन्तर्गत पर्ने यो पुल निर्माणका लागि बुधबार नगरपालिकासँग निर्माण कम्पनीको सम्झौता सम्पन्न भएसँगै काम अघि बढ्ने भएको हो ।

करिब तीन वर्षअघि आएको बाढीले पुलमा क्षति पुर्याएपछि जोखिम मोलेर सञ्चालन हुँदै आएको थियो । गत वर्ष २०८२ साल साउनमा आएको बाढीले जीर्ण अवस्थाको पुलसमेत बगाएपछि झापा र इलाम जोड्ने महत्त्वपूर्ण सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको थियो । त्यसयता सर्वसाधारण र सवारीसाधनले घुमाउरो वैकल्पिक सडक प्रयोग गर्दै आएका थिए ।

समता कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले मूल्य अभिवृद्धि कर भ्याटसहित रु २६ करोडको लागतमा पुल निर्माणको जिम्मेवारी पाएको छ । निर्माण कम्पनीका सञ्चालक दिनेश राउतसहितको टोलीले बिहीबार स्थलगत निरीक्षण गरी आज शुक्रबारदेखि निर्माणकार्य सुरु गर्ने जनाएको छ ।

नगरप्रमुख बलदेवसिंह गोम्देनसहितको टोलीले पुल निर्माणस्थलको निरीक्षण गरेको थियो । निरीक्षणपछि नगरप्रमुख गोम्देनले पुल निर्माण सुरु हुनु स्थानीयका लागि खुसीको विषय भएको उल्लेख गर्दै भने, “बिरिङ पुल निर्माण सुरु हुनु नगरवासीका लागि निकै सुखद समाचार हो ।”

लामो समयदेखि स्थानीयले भोग्दै आएको सास्ती अब अन्त्य हुने विश्वास व्यक्त गर्दै नगरप्रमुख गोम्देनले पुल निर्माणलाई समयमै सम्पन्न गर्न नगरपालिकाले गर्नुपर्ने सबै समन्वयात्मक भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने बताए ।

उनले निर्माण सम्पन्न गर्न साढे दुई वर्षको समयसीमा तोकिए पनि निर्धारित समयभन्दा अगावै पुल निर्माण सम्पन्न हुनेमा आफू आशावादी रहेको बताउनुभयो । पुल निर्माणसँगै झापा र इलामबिचको आवतजावत सहज हुनेछ ।

सम्बन्धित समाचार