सुनसरीमा दुई समूहबीच झडप, प्रहरीको गोली लागेर एक युवकको मृत्यु, देवानगन्ज र हरिनगरमा अनिश्चितकालिन कर्फ्यू
दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका अति संवेदनशील क्षेत्रहरू पहिचान गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पाँच वटा मुख्य बजार क्षेत्रलाई केन्द्रित गरी कर्फ्यु लगाएको हो।
जिल्ला प्रशासन कार्यालयले सुनसरीको हरिनगर बजार क्षेत्रमा कर्फ्यु लगाएको छ । हरिनगर बजारको पूर्वमा नुनियतोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोड सम्मको क्षेत्रलाई कर्फ्यु लगाएको छ ।
यस्तै, सुनसरीको भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र र घुस्कीमा कर्फ्यु लगाएको हो । भुटाह बजारको पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाह फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालय क्षेत्रमा कर्फ्यु आदेश भएको छ । यस्तै, कप्तानगञ्ज बजार क्षेत्रको पूर्वमा यादव टोल, पश्चिममा सिमल मावि, उत्तरमा कृष्ण मावि र दक्षिणमा नेपाल भारत सीमा क्षेत्रमा कर्फ्यु आदेश भएको छ ।
यस्तै घुसकी बजारको पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुसकी, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुल क्षेत्रमा कर्फ्यु आदेश भएको छ । यस्तै, देवानगञ्ज बजारको पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालय भित्र कर्फ्यु आदेश भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।आइतबार राति साउने सोमबारको अवसरमा बोलबम यात्रामा सहभागी हिन्दु धर्मावलम्बीमाथि अर्को समूहले आक्रमण गरेपछि देवानगन्ज–३, कप्तानगन्ज क्षेत्रमा तनाव उत्पन्न भएको थियो। त्यसपछि दुई समूहबीच भएको झडपले उग्र रूप लिएपछि स्थानीयका घर, पसल तथा सवारीसाधनमा तोडफोड भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा गोली लागेर देवानगन्ज–३ का स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। झडपमा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। घटनापछि थप क्षति हुन नदिन सुनसरी र मोरङबाट थप प्रहरी परिचालन गरिएको छ।
