कोशीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना
आज पनि केही प्रदेशमा भारी वर्षाको सम्भवना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ।
विभागका अनुसार अहिले बिहान देशका अधिकांश स्थानमा बादल लागेको छ । कोशी, बागमति, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुपश्चिम प्रदेशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो ६ घण्टामा बागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ।
सबैभन्दा बढी पानी झापा जिल्लाको अनारमनी बिर्तामा १०२.४ मिलिमिटर परेको छ। जसका कारण कन्काइ नदीमा बाढि आएको छ। नदीमा पानीको सतह खतराको संकेत पार गरेकोले नदी आसपासका क्षेत्रमा सर्तकता अपनाउन अनुरोध गरिएको छ।