झापामा डिभिजन वन कार्यालयको गाडीको ठक्करबाट एक महिलाको मृत्यु
झापामा डिभिजन वन कार्यालयको गाडीको ठक्करबाट सिटी सफारीमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१५ निवासी ४० वर्षीया आरती उराउ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज बिहान १०ः४५ बजे मेचीनगर-१५ कालिकास्थित भित्री सडक खण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्र ०१–००२ झ ७३६० नम्बरको स्कोरपियो गाडीसँग ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा सिटी सफारीमा सवार महिला उराउ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा बिहान ११ः१५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
दुर्घटनापछि स्कोरपियो गाडी फरार भएको थियो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाकाको टोलीले बिहान ११ः५० बजे मेचीनगर-४ बाहुनडाँगीबाट गाडी र गाडी चालक भद्रपुर नगरपालिका-१० निवासी ५४ वर्षीय लीला श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । सिटी सफारी चालक मेचीनगर ६ निवासी ४५ वर्षीय गम्भीर प्रसाद बातरलाई प्रहरी चौकी ज्यामिरगढीले नियन्त्रणमा लिएको छ ।