२०८३ श्रावण २ गते , शनिबार

कारागारमा कैदीबन्दीले आत्मदाहको प्रयास गरेपछि...

sajilo news
झापा
२०८३ श्रावण २ गते , शनिबार
कारागारमा कैदीबन्दीले आत्मदाहको प्रयास गरेपछि...

कारागारको ब्लकबाट स्थानान्तरणको विषयलाई लिएर कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा सप्तरी सदरमुकाम राजविराजस्थित कारागार शनिवार बिहानै तनावग्रस्त बन्यो ।

कारागारको बी ब्लकमा कैदीबन्दीका दुई समूहबीच ए ब्लकमा स्थानान्तरणको विषयलाई लिएर बिहान ७ बजेतिर विवाद हुँदा कारागार केहीबेर तनावग्रस्त बनेको हो । सो बारे  सूचना प्राप्त हुनासाथ सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको र स्थिति पूर्ण नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

“कैदीबन्दीको पनि गुट–उपगुट रहेछ, प्रवक्ता घिमिरेले भने, त्यही गुट–उपगुट बीच स्थानान्तरणको विषयलाई लिएर विवाद भएको हो ।” उनले तत्कालै कारागारमा थप सुरक्षाकर्मी परिचालन गरिएको र अहिले स्थिति पूर्ण नियन्त्रणमा रहेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कारागारमा कैदीबन्दीका दुई समूहबीच आपसी विवाद भई तनाव बढ्दै जाँदा सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

प्रहरी पुगेपछि केही कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याएको र लगत्तै प्रहरीले नियन्त्रणमा लिएपछि कुनै अप्रिय घटना भने नभएको उनको भनाई छ । कारागारका जेलर रूपक मण्डलले विवाद सुरु गर्ने एक जना कैदीबन्दीलाई अहिले छुट्टै कोठामा राखी घटना बारे थप बुझ्ने काम भइरहेको जानकारी दिएका छन । मुलुककै पुरानो कारागार मध्येका एक राजविराज कारागारमा अहिले २८ जना महिला र ३६२ पुरुष गरी कूल ३ सय ९० कैदीबन्दी छन् ।

कारागारको ए ब्लकमा १९६, बी ब्लकमा १६६ र महिला ब्लकमा २८ जना कैदीबन्दी छन । १५५ जनाको क्षमता भए पनि झन्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी कोच्चिएर राख्दा बेलाबेलामा विभिल खाले समस्या आउने गरेको जेल प्रशासनको भनाई छ । घटना बारे जानकारी लिन जाँदा जेल प्रशासनले सञ्चारकर्मीहरूलाई भित्र प्रवेशमा रोक लगाएका थिए ।

सम्बन्धित समाचार