२०८३ श्रावण २ गते , शनिबार

बाढी–डुबानको जोखिम बढ्दै, झापावासीलाई सुरक्षित रहन प्रशासनको आग्रह

sajilo news
पार्थ मण्डल
२०८३ श्रावण २ गते , शनिबार
बाढी–डुबानको जोखिम बढ्दै, झापावासीलाई सुरक्षित रहन प्रशासनको आग्रह

भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले लगातार भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको हस्ताक्षरसहित जारी सूचनामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार आज र भोलि कोशी प्रदेशसहित देशका विभिन्न स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ। झापा जिल्ला पनि उच्च जोखिममा रहेकाले बाढी, पहिरो र डुबानबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो।

प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। भारी वर्षा भइरहेका बेला सवारीसाधन सञ्चालन तथा आवागमन गर्दा सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न पनि अनुरोध गरिएको छ।

त्यस्तै, जिल्ला स्थित सबै सुरक्षा निकाय, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, स्वयंसेवक तथा सरोकारवाला निकायलाई विपद् प्रतिकार्यका लागि पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त राजमार्ग तथा सडक खण्डमा स्थानीय तह र निर्माण व्यवसायीलाई डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न भनिएको छ।

प्रशासनले नदी तथा खोलाको किनार, बाढी र पहिरोको जोखिम भएका बस्तीमा बसोबास गर्ने नागरिकलाई वर्षाका बेला विशेष सतर्कता अपनाउन, आवश्यक परे सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ। साथै, मौसमको अवस्थालाई निरन्तर निगरानी गर्दै आवश्यक परे जोखिमयुक्त स्थानका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

आपत्कालीन अवस्थामा जानकारी वा सहयोगका लागि विपद् सहायता नम्बर ११४६, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ तथा जिल्ला विपद् व्यवस्थापनसँग सम्बन्धित सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

सम्बन्धित समाचार