मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ। देशको दक्षिणी प्रशान्त महासागरीय किनार र ग्वाटेमालाको सीमा क्षेत्रमा गएराति ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
भूकम्पको धक्का मेक्सिको सिटीदेखि अल साल्भाडोरसम्म महसुस गरिएको थियो। शक्तिशाली धक्काका बाबजुद कुनैपनि देशमा ठूलो क्षति वा मानवीय क्षतिको विवरण प्राप्त नभएको बीबीसीले जनाएको छ, यद्यपि दक्षिणी मेक्सिकोमा दुई जना घाइते भएको समाचारमा उल्लेख छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार स्थानीय समय अनुसार शुक्रबार बिहान ०८ः४९ बजे गएको भूकम्पको केन्द्रविन्दु चियापासको तटीय क्षेत्र नजिकै रहेको अकिलेस सेर्डानभन्दा ४८ किलोमिटर दक्षिण–पश्चिममा र जमिनको सतहबाट १५.२ किलोमिटर गहिराइमा रहेको थियो। मुख्य भूकम्प जानुअघि समुद्रमा अलि टाढा केन्द्रविन्दु भएको सानो धक्का महसुस गरिएको थियो भने मुख्य भूकम्पपछि ४.७ देखि ६ म्याग्निच्युडका कम्तीमा १० वटा परकम्पहरू रेकर्ड गरिएका छन्।
भूकम्पलगत्तै अमेरिकी सुनामी चेतावनी प्रणाली र मेक्सिकोको नौसेनाले प्रशान्त महासागरीय तटीय क्षेत्रमा खतरनाक सुनामीको लहर आउनसक्ने चेतावनी दिएका थिए। पछि सुनामीको खतरा टरेको घोषणा गरिए पनि तटीय क्षेत्रका बासिन्दाहरूलाई चनाखो रहन र सतर्कता अपनाउन भनिएको छ।
यो क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको छ। यसअघि सन् २०१७ मा मेक्सिको सिटीमा गएको ७.१ म्याग्निच्युडको भूकम्पमा परी सयौँ मानिसको ज्यान गएको थियो भने यसै वर्षको सुरुमा दक्षिणी र केन्द्रीय मेक्सिकोमा गएको अर्को भूकम्पमा दुई जनाको मृत्यु भएको थियो।