मेची पुलमा भारु ९ लाख ७४ हजार रुपैयाँसहित दुई युवक पक्राउ
काँकडभिट्टा । नेपाल-भारतको सीमावर्ती काँकडभिट्टा नाकाको नयाँ मेची पुलमा ९ लाख ७४ हजार भारतीय रुपैयाँ र एउटा कारसहित दुई युवक पक्राउ परेका छन् । बुधवार दिउँसो ४ः२५ बजे पानीट्याङ्कीको नयाँ मेची पुलमा नियमित चेकजाँचका क्रममा एसएसबीको सीमा गुप्तचर टोली (बीआईटी) ले भारतबाट नेपालतर्फ आउँदै गरेको SK ०१ PB ९४६५ नम्बरको महिन्द्रा एसयूभी कारलाई रोकेर चेकजाँच गरेको थियो।
त्यस क्रममा चालकको सिटमुनि र गाडीको अन्य गोप्य ठाउँहरूबाट ९ लाख ७४ हजार भारतीय रुपैयाँ बरामद भएको थियो। सोधपुछका क्रममा ४९ वर्षीय चालक जीवन विश्वकर्माले बरामद गरिएको ५ लाख २४ हजार रुपैयाँ आफ्नो भएको दाबी गरेका छन् । उनले आफ्नी सासूको उपचारको लागि नेपाल लैजाँदै गरेको बताएका छन् । त्यस्तै गाडीमा सवार यात्रु २५ वर्षीय राहुल नेपालले ४ लाख ५० हजार रुपैयाँ आफ्नो भएको दाबी गरेका छन् । उनले नेपाल भ्रमणको लागि सो रकम बोकेको बताएका छन् ।
दुवै जना गान्तोकको ट्रु भ्यालुमा चारपाङ्ग्रे सवारी साधनको खरिद बिक्रीको कारोबार गर्ने गरेको बुझिएको छ । सो गाडी उनीहरूको ग्राहकको भएको बताएका छन् ।
एसएसबी अधिकारीहरूले ती दुई जनालाई भारतीय रुपैयाँको स्रोत, ढुवानी र नेपालमा ढुवानी पुष्टि गर्ने कागजातहरू माग्दा उनीहरूले सन्तोषजनक प्रमाण दिन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बरामद गरिएको भारतीय रुपैयाँ, महिन्द्रा XUV ३०० गाडी र दुवै जनालाई थप कानुनी कारबाही र अनुसन्धानको लागि भन्सार कार्यालय पानीट्याङ्कीमा बुझाइएको छ ।