झापा जिल्ला अदालतमा ७५४९ मध्ये ४५३५ वटा मुद्दा फछर्यौट
झापा जिल्ला अदालत भद्रपुरले यस वर्ष ७५४९ मुद्दामध्ये ४५३५ वटा मुद्दा फछर्यौट गरेको छ। जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेलले चालु आर्थिक वर्ष २०८२/८३ मा गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ३२३२ र चालु आर्थिक वर्षमा दर्ता भएका ४३१७ समेत गरी ७५४९ थान मुद्दामध्ये ४५३५ फछर्यौट भई ३०१४ मुद्दाको निर्णय हुन बाँकी रहेको बताए । उनले ६५ प्रतिशत फछर्यौट गर्ने लक्ष्य रहेकोमा ६१ प्रतिशत फछर्यौट भएको जानकारी दिए।
उनले गत वर्षको भाद्र २३ र २४ गतेको आन्दोलनको प्रभाव, सोबाट अदालतको सूचना प्रणाली ९ऋःक्० मा अवरुद्ध, संघीय संसद्को निर्वाचन आदि कारणले लक्ष्य अनुसार सोचेजस्तो मुद्दा फछर्यौट हुन नसकेको बताए ।प्रमुख न्यायाधीश लुइँटेलका अनुसार छिटोछरितो र गुणस्तरीय न्याय प्रदान गर्ने लक्ष्यका साथ २०६१ सालदेखि रणनीतिक योजना कार्यान्वयनमा आएकोमा हाल पाँचौँ रणनीतिक योजना कार्यान्वयनमा रहेको छ ।
झापा जिल्ला अदालतले निष्पक्ष, छिटोछरितो, सरल न्याय सम्पादनमा जोड दिने, मेलमिलाप पद्धतिलाई बढी अवलम्बन गर्ने एवं अदालतप्रति जनआस्था अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेको हुँदा निष्पक्ष र प्रभावकारी न्याय सम्पादनको लागि आगामी दिनमा समेत सरोकारवालाहरूको समन्वय र सहयोगको अदालतले अपेक्षा गरेको उनले बताए ।
त्यस्तै गरी अदालतका श्रेस्तेदार उपसचिव डिल्लीराम प्रसाईँले बढ्दो मुद्दाको चापका बाबजुद स्रोत साधनको अधिकतम सदुपयोग गर्दै छिटोछरितो, निष्पक्ष, जबाफदेही, पारदर्शी एवं प्रभावकारी ढंगबाट न्याय सम्पादन गरेको बताए ।
अदालतका प्रशासन शाखाका अनुसार झापा जिल्ला अदालतमा ९ जना न्यायाधीशको दरबन्दी रहेको छ । न्यायालयबाट हुने सेवा प्रवाहलाई छिटोछरितो, सरल र पारदर्शी बनाउन अदालतले मुद्दाको प्रकृति अनुसार फरक मुद्दा ब्यबस्थापनअन्तर्गत सरल, सामान्य र विशेष मार्ग समूहमा वर्गीकरण गरी स्वचालित पेशी, इजलास छनौटमा गोला प्रथा, अनलाइन सुनुवाइ, अनलाइन तारेखको प्रयोग गरेको छ भने मुद्दाको कामकारबाही लगायत फैसला समेत वेबसाइटबाट हेर्न सकिने अदालतका शाखा अधिकृत एवं सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिएका छन् ।