जनविकास मावि बाह्रदशीले पहिलोपटक जग्गादाता र संस्थापकलाई गर्यो सम्मान
जनक राउत । बाह्रद्शी
झापाको बाह्रदशी गाउँपालिका-४ स्थित जनविकास माविले आज एक कार्यक्रमका बीच पहिलोपटक जग्गादाता तथा संस्थापकलाई सम्मान गरेको छ। वि.सं. २०११ सालमा स्थापना भएको विद्यालयले पहिलो पटक विशेष कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष समीर मियाको अध्यक्षतामा तथा बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष महताव आलमको प्रमुख अतिथिमा सो कार्यक्रम भएको थियो ।
विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक शिव पोखरेलले २०८० सालको एसइई नतिजामा निल खाएको यश विद्यालयले शैक्षिक गुणस्तर क्रमशः सुधार गर्दै २०८१ सालमा ५.२६ प्रतिशत र २०८२ मा २८.५७ प्रतिशत पास गराउन सफल भएको छ । आगामी वर्ष ५६ प्रतिशत पास गराउने लक्ष्य रहेको छ । विद्यालयमा हाल ५५६ विद्यार्थी रहेको उनले जनकारी दिए ।
वडा नम्बर ४ को एक मात्र सामुदायिक विद्यालय रहेको यश माविमा करिब ९५ प्रतिशत विद्यार्थी मुस्लिम समुदायका रहेको बताउँदै उनले भने, ५ वर्ष भित्र पालिकाकै उत्कृष्ट विद्यालय बनाउने महत्त्वाकाङ्क्षी लक्ष रहेको र प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने चाहना छ । कार्यक्रममा जग्गादाता र संस्थापकहरूलाई मरणोप्रान्त सम्मान गर्दै उनीहरूका परिवारलाई सम् मानपत्र प्रदान गरी दोसल्ला ओढाइएको थियो।
मरणोप्रान्त सम्मानित हुने जग्गादाताहरूमा क्रमशः स्वर्गीय बुल्ला मिया, स्वर्गीय लक्ष्मीदेवी गणेश, स्वर्गीय लीला गणेश, स्वर्गीय काली प्रसाद गणेश र संस्थापक प्रधानाध्यापक स्वर्गीय प्रेमानन्द गोस्वामी, त्यस्तै जग्गादाताहरू रेणुका देवी गनगाई र ठण्डाकुमारी गणेशलाई सम्मान गरिएको थियो।
कार्यक्रममा गत वर्षको एसइई र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गरिएको थियो। एसइई मा उत्कृष्ट नतिजा ल्याउने आफ्रिम निशा र कक्षा ८ बाट उत्कृष्ट नतिजा ल्याउने जानकी शर्मालाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा जग्गादाता तथा संस्थापकको नामावलीको शिलालेख अनावरण र उनीहरूको तस्बिर समेत विद्यालयको कार्यालय राखिएको थियो। साथै मुस्लिम समुदायका छात्राहरूले आफ्नो मौलिक भेषमा प्रस्तुति दिएका थिए।
कार्यक्रममा समाजसेवी सोमनाथ बजगाईँ, रेडक्रसकर्मी ओमप्रकाश गौतम, शिक्षा शाखा प्रमुख गीता देवी सुवेदी, स्थानीय सूर्यनारायण गणेश, सम्मानित परिवारका दयानन्द गोस्वामी, संविधानसभा सदस्य हरि बहादुर राजवंशी र वडाअध्यक्ष महताव आलमले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै वक्ताहरूले २०११ सालमा स्थापना भएको विद्यालयले हालसम्म गर्न नसकेको यस्तो कार्यक्रम पहिलोपटक गरिएकोमा प्रधानाध्यापक पोख्रेलको प्रशंसा गर्दै जग्गाको अभिलेखीकरण गरेर विद्यालयको कुल जग्गा यकिन गरी दाताहरूको पूर्ण पहिचान गर्न सुझाव दिएका थिए। साथै हालै गाउँपालिकाले गरेको नयाँ प्रधानाध्यापक नियुक्तिको कारण कुशल प्रधानाध्यापक पोखरेल अन्यत्रै जाने अवस्था आएकोले काजमा भएपनि उनलाई यहीँ विद्यालयमा राखिदिन गाउँपालिका समक्ष अपेल गरेका थिए। शिक्षिका धनमाया नेपालले स्वागत मन्तव्य राखेकी कार्यक्रमको सञ्चालन शिक्षक टीका गणेशले गरेका थिए ।