प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरीको नवनिर्मित तालिम भवनको उद्घाटन
झापा । कोशी प्रदेश सरकारले झापाको भद्रपुरमा निर्माण गरेको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरीको नवनिर्मित तालिम भवनको एक समारोहका बीच उद्घाटन गरेको छ। साढे ४ करोडको लागतमा निर्मित दुई तले तालिम भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिहीबार उद्घाटन गरेका हुन्।
भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशकै आधुनिक तालिम केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधार विस्तार गरिने बताएका छन्। अनुसन्धान, क्षमता विकास र जनशक्ति उत्पादनका लागि प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने, आगामी दिनमा थप भौतिक संरचना र आवश्यक स्रोत–साधनको व्यवस्थापनमा प्रदेश सरकार प्रतिबद्ध छ।’
प्रतिष्ठानमा रहेको करिब ४७ बिगाहा जमिनमध्ये केही जमिन छुट्टाएर मेची प्रादेशिक अस्पतालको मेडिकल कलेज बनाउन पनि सोच्न सकिने उनले बताए। प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरीका कार्यकारी निर्देशक नारायणप्रसाद रिसालका अनुसार मछिन्द्र राज जेभी भद्रपुरले २०८० साल जेठ २४ गते ४ करोड ७२ लाख २६ हजार ३ सय रुपैयाँमा ठेक्का लिई २०८१ कात्तिक १५ मा भवन सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो।
सो समयमा कम्पनीले निर्माण कार्य सम्पन्न नगरेपछि प्रथम पटक २०८२ असार मसान्त र दोस्रो पटक २०८२ कात्तिक २० सम्म सम्पन्न गर्ने गरी म्याद थप गरेको थियो। भवन निर्माणको वास्तविक लागत ४ करोड ४८ लाख ५४ हजार ६ सय ४८ रुपैयाँ ३७ पैसा रहेको छ। तालिम भवनमा ठूला, मझौला र साना गरी १० वटा कोठा रहेको उनले बताए। प्रतिष्ठानले सेवाकालीन तथा सेवा प्रवेश तालिममा १ हजार ४२७ जना, जनप्रतिनिधि, कर्मचारी र अन्य गरी १३ हजार २ सय १९ जनाले तालिम लिएको उल्लेख छ।
२०१९ सालमा पञ्चायत अग्रणी प्रशिक्षण केन्द्र हुँदै २०२८ सालमा स्थानीय विकास प्रशिक्षण केन्द्र २०५५ सालमा ग्रामीण विकास प्रशिक्षण केन्द्र, २०७७ सालमा प्रदेश प्रशिक्षण केन्द्र, २०७९ सालमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र आगामी २०८४ सालमा प्रदेशको एक उत्कृष्ट सिकाई तथा नवप्रवर्तन केन्द्र बनाउने लक्ष्य लिएको जनाइएको छ।