२०८३ असार २० गते , शनिबार

विश्वकपको प्रि-क्वाटरफाइनल समीकरण पूरा, कसको प्रतिद्वन्द्वी को ?

sajilo news
रासस
२०८३ असार २० गते , शनिबार
विश्वकपको प्रि-क्वाटरफाइनल समीकरण पूरा, कसको प्रतिद्वन्द्वी को ?

उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' का खेलहरू सकिएका छन्। केही ठूला दाबेदार टोलीहरू घर फर्किएका छन् भने 'राउन्ड अफ १६' अर्थात् प्रि-क्वार्टरफाइनलको समीकरण निकै रोचक बनेको छ।

जर्मनी र नेदरल्यान्ड्स जस्ता पूर्व विजेता र पावरहाउस टोलीहरू नकआउटको पहिलो चरणबाटै बाहिरिनु यसपटकको सबैभन्दा ठूलो स्तब्धता बनेको छ। विश्वकप फुटबलमा उतारचढाव त सामान्य नै हो, तर यसपटकको 'राउन्ड अफ ३२' ले फुटबल निकै रोचक बन्यो। यो विश्वकपमा पहिलो पटक डेब्यू गरेको केप भर्डेले सबैको ध्यान तान्यो। अफ्रिकी देश भर्डेले यो विश्वकपमा साविक विजेता र पूर्वविजेतालाई आच्छु आच्छु नै पार्‍यो। 

सबैभन्दा ठूलो धक्का पूर्व विजेता जर्मनीलाई लाग्यो। पाराग्वेसँग निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि टाइब्रेकरमा जर्मनी ३-४ ले स्तब्ध बन्दै प्रतियोगिताबाटै बाहिरियो। अर्को रोमाञ्चक खेलमा मोरक्कोले बलियो नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ३-२ ले पाखा लगाउँदै घरको बाटो देखाइदियो।

घरेलु मैदानको फाइदा उठाउँदै आयोजक अमेरिका, क्यानडा र मेक्सिको अर्को चरणमा प्रवेश गरेका छन्। अब 'राउन्ड अफ १६' मा युरोपका दुई महारथी पोर्चुगल र स्पेनबीच महाभिडन्त हुने भएको छ।

क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले क्रोएसियालाई २-१ ले हराउँदै अघिल्लो चरण तय गर्दा स्पेनले अस्ट्रियामाथि ३-० को सहज जित दर्ता गर्‍यो। यी दुई टोली क्वार्टरफाइनल प्रवेशका लागि आमनेसामने हुनेछन्। 

उता स्विडेनलाई ३-० ले पन्छाएको फ्रान्सले अब जर्मनीलाई रोक्ने पाराग्वेसँग खेल्नेछ। दक्षिण अफ्रिकालाई पराजित गरेको क्यानडाले नेदरल्यान्ड्सलाई स्तब्ध पारेको मोरक्कोसँग खेल्नेछ।

अर्कोतर्फ, ब्राजिल र नर्वेले आ-आफ्नो खेल २-१ को समान अन्तरले जित्दै अन्तिम १६ मा भेट पक्का गरेका छन्। साविक विजेता अर्जेन्टिनाले केप भर्डेमाथि ३-२ को कठिन जित निकाल्दै इजिप्टसँगको भेट निश्चित गरेको छ।  इजिप्टले अस्ट्रेलियालाई टाइब्रेकरमा हराएको हो।

अमेरिकाले बोस्नियालाई २-० ले हराएर बेल्जियमसँगको भेट पक्का गर्दा मेक्सिकोले इक्वेडरलाई २-० ले नै पराजित गरी बलियो इङ्गल्यान्डसँगको भिडन्त तय गरेको छ। स्विट्जरल्यान्डले अल्जेरियालाई २-० ले हराएर अर्को चरणमा पुगिसकेको छ। उसले कोलम्बिया प्रतिद्वन्द्वी पाएको छ। कोलम्बियाले घाना १-० गोलले हरायो। 

सम्बन्धित समाचार