२०८३ असार १० गते , बुधबार

झापाका नगर प्रहरीलाई विपद् प्रतिकार्य तालिम

sajilo news
झापा
२०८३ असार १० गते , बुधबार
झापाका नगर प्रहरीलाई विपद् प्रतिकार्य तालिम

झापा । झापाका नगर प्रहरीलाई विपद् प्रतिकार्य तालिम प्रदान गरिएको छ ।  सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीको आयोजना तथा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा सशस्त्र प्रहरी बल, नेपाल नं। २ गण हेक्वा झापामा समुदाय स्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक समूह निर्माणका लागि नगर प्रहरीलाई तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।

हिजोदेखि असार १५ गतेसम्म सञ्चालन हुने सातदिने तालिममा मेचीनगर, अर्जुनधारा, बिर्तामोड, कन्काई र भद्रपुर नगरपालिकाका चार–चार जना गरी २० जना नगर प्रहरी सहभागी रहेका छन्।

तालिम अवधिभर सहभागीलाई विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, खोज तथा उद्धार, प्राथमिक उपचार तथा विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिने सशस्त्र प्रहरी बल नं. २ गण झापाका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलले जानकारी दिए।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल सहभागी थिए। कार्यक्रममा गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, प्रशिक्षार्थी नगर प्रहरी तथा सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गेलालले विपद्का घटनाको प्रभावकारी व्यवस्थापनका लागि स्थानीय तह, सशस्त्र प्रहरी बल नेपाल र समुदायबीचको समन्वय अपरिहार्य रहेको बताए। उनले यस्ता तालिमले समुदायमा दक्ष जनशक्ति उत्पादन गरी विपद्को समयमा जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार