२०८३ असार ८ गते , सोमबार

पहिरोले खाँदबारी–किमाथाङ्का सडक खण्ड अवरुद्ध

sajilo news
रासस
२०८३ असार ८ गते , सोमबार
पहिरोले खाँदबारी–किमाथाङ्का सडक खण्ड अवरुद्ध

सङ्खुुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्ड पहिरोका कारण सडक अवरुद्ध भएको छ । उत्तर–दक्षिण कोशी सडकखण्डको भोटखोला गाउँपालिका–३ स्याबुङमा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का खण्डको छोङराङमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले गएरातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार पहिरोका कारण उक्त क्षेत्रमा यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएका छन् ।

पहिरो हटाउन उत्तर–दक्षिण कोशी सडक कार्यालय तथा स्थानीय तहसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माथिल्लो क्षेत्रमा लगातार ठूलो वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए । पहिरो खसेपछि भोटखोलाबाट खाँदबारी आउने यातायातका साधन वारपार हुन सकेका छैनन् ।

सम्बन्धित समाचार