कचनकवलमा ४६ जना करार शिक्षक निकालिए
झापा कचनकवलका ४६ जना करार शिक्षक सेवाबाट निकालिएका छन् । गाउँपालिकाबाट निजी तथा अनुदानमा शिक्षक व्यवस्थापन गरी पठनपाठन गराउँदै आएका शिक्षकहरूलाई सेवाबाट निकालिएको हो ।
गाउँपालिका कार्यालयले आज एक सूचना जारी गरी बैशाख १ गतेबाट लागु हुने गरी म्याद थप गर्ने विगतका वर्षहरूको प्रचलन रहेकोमा गत चैत ३० गतेबाट लागु हुने गरी निजी तथा गाउँपालिका अनुदान शिक्षकको म्याद थप नगरिएको जानकारी गराएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले सेवाबाट निकालिने शिक्षकहरू प्रावि तहका भएको बताए । उनले नेपाल सरकारबाट प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने भन्ने ब्यहोरासहितको निर्देशन आएपछि माध्यमिक शिक्षा स्थानीय तहकै क्षेत्राधिकार भए पनि सो दरबन्दीहरू स्वीकृत नभएकाले निजी र अनुदानबाट चलाउने क्रममा गाउँ कार्यपालिकाबाट करार शिक्षकहरूको म्याद थप गर्न नसकिएको जानकारी दिए । यसअघि बाह्रदशी गाउँपालिकाले पनि करार शिक्षक निष्कासित गरेको थियो ।