आईसीसी विश्वकप लिग–२ : नेपालले यूएईलाई ३७ रनले हरायो
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरुवात गरेकाे छ। शनिबार भएकाे पहिलाे खेलमा युएईलाई ३७ रनले पराजित गरेकाे हाे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउटहुँदै २ सय रन बनाएकाे थियाे। २ सय १ रनकाे लक्ष्य पछ्याएकाे यूएईले जवाफी ब्याटिङमा खराब प्रदर्शन गर्याे। यूएईका लागि हर्पित सिंहले सर्वाधिक ३९ रन बनाए। कप्तान माेहम्मद वासिमले ३४, आकाशदीप नाथले ३०, आर्यान्स शर्मा र निलन्स केसवानीले समान १८ रन बनाउनबाहेक अन्य ब्याट्सब्यानले दाेहाेराे अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि करण केसी एक्लैले ४ विकेट लिए। यस्तै सन्दीप लामिछाने र साेमपाल कामीले दुई–दुई तथा दीपेन्द्रसिंह ऐरि र ललितनारायण राजवंशीले १–१ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेकाे नेपालले उपकप्तान दीपेन्द्रसिंह ऐरिले उत्कृष्ट प्रदर्शनमा २ सय रनकाे याेगफल तयार पारेकाे थियाे। ऐरिले ९० बलमा ५ चौका र २ छक्काकाे मद्दतमा सर्वाधिक ७५ रन बताए।
ओपनर कुशल भुर्तेल २४ रनमा आउट भए। बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले समान १५ र भिम सार्कीले १० रन थपे। आशिफ शेखले ७ र कप्तान रोहित पौडेलले २ रन बनाए। करण केसीले २२ रन जाेडे। युएईका लागि अजय कुमारले ३ विकेट लिए। खुजैमा तनविर र जुनैद सिद्दिकीले समान २ विकेट लिए। हैदर अली र मुहम्मद सहदादले समान एक विकेट लिए।