जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी
जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण सयौँ किलोमिटर टाढाको टोकियोका गगनचुम्वी भवनहरूलाई हल्लाएको छ र तीन मिटर (१० फिट)सम्म सुनामी छालहरू आउने चेतावनी दिइएको छ।
जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार स्थानीय समयअनुसार साँझ ४ बजेर ५३ मिनेटमा उत्तरी इवाते प्रान्तको प्रशान्त महासागरमा भूकम्प गएको हो।
भूकम्पको करिब ४० मिनेटपछि ८० सेन्टिमिटर (३१ इन्च)को सुनामीको लहर इवातेको कुजीस्थित एउटा बन्दरगाहमा ठोक्किएको छ। जेएमएले सुरुमा भूकम्पको धक्का ७.४ म्याग्निच्युडको रहेको बताए पनि यसलाई पछि परिमार्जन गरी ७.५ म्याग्निच्युड रहेको पुष्टि गरिएको हो।
जेएमएद्वारा जारी चेतावनीमा भनिएको छ, “तटीय क्षेत्र र नदी किनारका क्षेत्रलाई खाली गरी उच्च स्थान वा उद्धार भवनजस्ता सुरक्षित स्थानमा तत्काल जान अनुरोध गरिन्छ।” उनले भने, “पटक–पटक सुनामीको छाल आउने अपेक्षा गरिएको छ। चेतावनी नहटेसम्म सुरक्षित ठाउँ नछोड्नुहोस्,” विज्ञप्तिमा भनिएको छ।
राष्ट्रिय प्रसारक एनएचकेको फुटेजमा इवातेका बन्दरगाहका वरपरका धैरै स्थानमा तत्काल कुनै ठूलो क्षति नभएको उल्लेख गरिएको छ।