२०८२ चैत्र १५ गते , आईतबार

जम्मु-कश्मिरमा हिमपहिरो जाँदा ७ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८२ चैत्र १४ गते , शनिबार
जम्मु-कश्मिरमा हिमपहिरो जाँदा ७ जनाको मृत्यु

श्रीनगर । जम्मु-कश्मिर र लद्दाखलाई जोड्ने रणनीतिक महत्त्वको श्रीनगर-लेह राष्ट्रिय राजमार्गमा शुक्रबार दिउँसो भीषण हिमपहिरो जाँदा ७ जनाको मृत्यु भएको छ । जोजिला दर्रा नजिकै भएको यस दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार, हिमपहिरो शुक्रबार दिउँसो जोजिला दर्राको 'जिरो प्वाइन्ट' र 'मिनीमार्ग' बीचको खण्डमा गएको हो । अग्लो पहाडी बाटोबाट सवारी साधनहरू गुडिरहेका बेला अचानक माथिबाट ठूलो मात्रामा हिउँको ढिस्को खसेको थियो, जसले गुडिरहेका कैयौँ गाडीहरूलाई आफ्नो चपेटामा पारेको थियो ।

हिउँको मलबेमा पुरिएका गाडीहरूबाट उद्धार टोलीले ७ जनाको शव निकालेको छ भने ५ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनास्थलमा अझै पनि उद्धार कार्य जारी रहेको र हिउँ पन्छाउने काम भइरहेको अधिकारीहरूले जनाएका छन् ।

यस  घटनाप्रति जम्मु-कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले गहिरो दुःख व्यक्त गरे । उनले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्यस्तै, केन्द्रीय मन्त्री जितेन्द्र सिंहले पनि घटनाप्रति शोक व्यक्त गर्दै प्रभावितहरूलाई आवश्यक सहयोग र राहत उपलब्ध गराइरहेको जानकारी दिए । यो राजमार्ग जम्मु-कश्मिर र लद्दाख जोड्ने एक मात्र मुख्य सडक भएकाले अहिले सो क्षेत्रमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

सम्बन्धित समाचार