२०८२ चैत्र १२ गते , विहीबार

एलपी ग्यासको प्रयोग घटाउन भद्रपुरका १४ सय घरधुरीलाई विद्युतीय चुल्हो

sajilo news
पार्थ मण्डल
२०८२ चैत्र ११ गते , बुधबार
एलपी ग्यासको प्रयोग घटाउन भद्रपुरका १४ सय घरधुरीलाई विद्युतीय चुल्हो

भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यसहित नगरभित्रका घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिरहेको छ । परम्परागत दाउरा तथा एलपी ग्यासको प्रयोग घटाउँदै वातावरणमैत्री र सुरक्षित विकल्पतर्फ नागरिकलाई आकर्षित गर्न विद्युतीय चुल्हो वितरण कार्यक्रमलाई अघि बढाइएको नगरपालिकाले जनाएको छ । 

भद्रपुर नगरपालिकाले हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्य तथा उपभोक्ता लागत सहभागितामा नगरका १० वटै वडामा विद्युतीय चुल्हो वितरण गर्न लागिएको हो । नगरपालिकाले चैत ५ गते वडा नम्बर १ कार्यालयबाट सुरु गरी हालसम्म ६ नम्बर वडा कार्यालयसम्म सुधारिएको चुल्हो वितरण गरिसकेको छ । चैत १६ गतेसम्म एक हजार ४८६ घरधुरीलाई चुल्हो वितरण गरिने छ । 

प्रारम्भिक चरणमा आर्थिक अवस्था कमजोर भएका तथा प्राथमिकतामा परेका घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिँदैछ । नगरपालिकाले आगामी दिनमा थप घरधुरीसम्म कार्यक्रम विस्तार गर्ने तयारी समेत गरेको जनाइएको छ । गत मंसिर १ गते नगरपालिकाले सुधारिएको चुल्होका लागि सार्वजनिक सूचना नै आव्हान गरेको थियो । 

सोही सूचना अनुसार फारम भरेका उपभोक्ताहरूलाई अहिले चुल्हो वितरण गरिरहेको नगर प्रमुख गणेश पोखरेलले बताए । देशमा जलविद्युत उत्पादन बढिरहेकाले परम्परागत दाउरा तथा एलपी ग्यासको प्रयोग घटाउन यसको प्रयोगमा नगरबासीलाई जोडन खोजिएको नगर प्रमुख पोखरेलले बताए ।

इरान– इजरायल–अमेरिका युद्धको असर अहिले बजारमा एलपी ग्यास सिलिन्डर अभाव भइरहेकाले यसलाई लक्षित गरी नगरपालिकाले विद्युतीय चुल्हो वितरण गरेको उनले प्रस्ट्याए ।  विद्युतीय चुल्हो धुँवारहित खाना पकाउने वातावरण सिर्जना गर्ने, स्वास्थ्यमा सुधार ल्याउने, वातावरण संरक्षणमा टेवा पुर्‍याउने दाउरा तथा अन्य परम्परागत इन्धनको प्रयोग घटाउन मद्दत गर्ने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले जानकारी दिए ।

सम्बन्धित समाचार