२०८३ बैशाख ३ गते , विहीबार

प्रहरी, प्रशासन निरीह बन्दा अराजक भीडले लठ्ठिसकेको चितुवालाई कुटेरै मारे

sajilo news
झापा
२०८२ चैत्र ९ गते , सोमबार
प्रहरी, प्रशासन निरीह बन्दा अराजक भीडले लठ्ठिसकेको चितुवालाई कुटेरै मारे

प्रहरी, प्रशासन निरीह बन्दा झापाको बुद्धशान्तिमा अराजक भीडले लठ्ठिसकेको चितुवालाई कुटेरै मारेको घटनाले स्तब्ध बनाएको छ ।

घाइते अवस्थामा मकैवारिमा लुकेर बसेको चितुवालाई उद्धार गर्न कोशी टप्पु वन्यजन्तु आरक्षण सुनसरीबाट आएको टोलीले उद्धार गर्दै गर्दा अराजक भीडले कुटेर मार्नुलाई समाजको चेतना र कानुनी राज्यको अस्तित्वमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । कोशी टप्पुबाट आएको पशु चिकित्सकको टोलीले नियन्त्रणमा लिन डार्ट प्रहार गरी लट्ठ्याइसकेको अवस्थामा अराजक र उत्तेजित भीडले बीभत्स ढङ्गले कुटपिट गरी मारेको हो । साँझ ५ बजे कोशी टप्पुबाट आइपुगेको पुरुषोत्तम मुरारी ,तीर्थ लामासहितको टोलीले चितुवालाई लट्ठ्याउन डार्ट प्रहार गरिसकेको थियो । त्यसपछि लट्ठिँदै गरेको चितुवामाथि ढुंगामुढा प्रहार भएको थियो । अराजक भीडले अमानवीय ढंगले चितुवालाई मारेको घटनाले दुखी बनाएको डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी गुहयारी यादवले बताए ।

बुद्धशान्ति–४, टिमाई शिविर नजिकैको मकैवारिमा हिजो बिहान ८ बजेतिर सो दुर्लभ निगाले चितुवा देखा परेको थियो । सोही बेलादेखि चितुवाको फोटो, भिडियो खिच्न र चितुवालाई बिच्काउन ठूलो भीड जम्मा भइसकेको थियो । भीडलाई हटाउन प्रयास गर्दै प्रहरीले माइकिङ गरेको थियो । इलाका प्रहरी कार्यालय बुधवारेका प्रहरी नायव निरीक्षक चन्द्रबहादुर राउतको कमान्डमा प्रहरी टोली खटिएर भीडलाई हटाउने प्रयास गरेको थियो । तर, भीड हटेको थिएन ।

कोशी टप्पुबाट विज्ञ टोली आइपुग्न ढिलो हुँदा त्यहाँ करिब १५ सयको सङ्ख्यामा भीड जम्मा भइसकेको थियो । दिउँसो पख चितुवा लखेट्दै गरेको सोही भीडले साँझपख कुटेर मारेको एक प्रत्यक्षदर्शीले बताए । मादक पदार्थ सेवन गरेर आएका केही व्यक्तिहरूले रमाउँदै चितुवालाई कुटी कुटी मारेको दृश्य दर्दनाक रहेको ती प्रत्यक्षदर्शीले बताए ।

यसैबीच सामाजिक अभियन्ता विष्णु आचार्यले यस्तो जघन्य कार्य गर्नेहरूलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार चितुवा मार्नु ५ देखि १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने फौजदारी अपराध हो भन्ने जान्दाजान्दै, गलत कार्य गर्नेहरूलाई सजाय दिनुपर्ने उनले माग गरेका हुन् ।हत्या गरिएको चितुवालाई डिभिजन वन कार्यालय भद्रपुरको परिसरमा गाडेर अन्त्येष्टि गरिएको छ ।

सम्बन्धित समाचार