दमकमा नगर प्रमुख र उपप्रमुखबीच टकराव : उपप्रमुखले गरिन् नगरसभा बहिष्कार
झापाको दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईको टकराव सतहमा आएको छ। दुईको टकरावका कारण उपप्रमुख भट्टराईले शुक्रबार भएको दमक नगरपालिकाको १८औँ नगरसभा बहिष्कार गरेकी छिन्। नगर प्रमुख थापाले समन्वय नगरेको भन्दै उपप्रमुखले नगरसभा बहिष्कार गरेकी हुन्।
नगरसभाको तयारीस्वरूप बिहीबार बसेकोे कार्यपालिकाको बैठकबारे समेत आफूलाई जानकारी नभएको उनले बताइन्। शुक्रबार भएको नगरसभाबारे पनि जानकारीसमेत नआएको उनको भनाइ छ। विगत केही समयदेखि नै नगर प्रमुख थापा र उपप्रमुख भट्टराईबिच आन्तरिक द्वन्द्व थियो। यद्यपि, उनीहरू पारिवारिक नाताका समेत हुन्।
नगर प्रमुख थापाले विगतदेखि नै आफूमाथि अवहेलना गरिरहेको उनको भनाइ छ। नगर प्रमुख थापाले स्थानीय सरकार सञ्चालन ऐनमा रहेको उपप्रमुखको अधिकारमाथि नै हस्तक्षेप गर्दै आएको उनको आरोप छ। ‘कहिले सार्वजनिक कार्यक्रममै अवहेलना गर्नुभयो। कहिले फेसबुकमार्फत गर्नुभयो। मैले अवहेलित भएको महसुस गरेर काम गरिरहेकी छु,’ उनले भनिन्, ‘कार्यपालिकाको बैठकबारे जानकारी पनि दिइएन। मेरो अधिकारमाथि पनि हस्तक्षेप भएको छ। मेरो अधिकार क्षेत्रभित्रको कुनै कार्यक्रम गरौँ भन्दा कर्मचारीले मेयरलाई सोध्नु र समय मिलाएर गर्नु भन्ने गरेका छन्।’
नगर प्रमुख थापाले कुनै विषयमा आफूसँग समन्वय नगरेको उनको दाबी छ। ‘संस्थागत रूपमा म नगरपालिकाको दोस्रो मुख्य व्यक्ति। तर, नगरसभाको एजेन्डा के हुन्छ, मलाई थाहा छैन,’ उनले भनिन्, ‘नगर सभाका एजेन्डाका विषयलाई बैठक बोलाइएको पनि थाहा छैन। मैले त्यहाँ गएर के पढ्ने ? के भन्ने ?’
उपप्रमुख, दुई वडाध्यक्षसहित कांग्रेसबाट निर्वाचित पाँच नगरसभा सदस्यले शुक्रबारको नगरसभा बहिष्कार गरेका हुन्। पछिल्लो समय एमालेबाट निर्वाचित जनप्रतिनिधिसँग नजिक भएका थापालाई एमाले जनप्रतिनिधिले भने साथ दिएका थिए। उपप्रमुखको बहिष्कारबिच १८औँ नगरसभा भने सम्पन्न भएको छ। नगर प्रमुखको आसननजिकै राखिएको उपप्रमुखको कुर्सी खाली राखेर नगरसभा सम्पन्न गरिएको हो। नगरसभामा उपप्रमुख अनुपस्थित भएपछि उपप्रमुख संयोजक भएको समितिको प्रतिवेदन तथा विधेयक समितिका सदस्यले प्रस्तुत गरिएका थिए। नगरसभा सञ्चालन भइरहेको समयमा केहीबेर नगरसभा स्थगित गरेर कार्यपालिका बैठक बस्दै प्रतिवेदन र विधेयक प्रस्तुत गर्ने सदस्यको टुंगो लगाइएको थियो।
यद्यपि, दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले भने नगरसभाबारे उपप्रमुख भट्टराईलाई जानकारी भएको बताए। ‘१२ फागुनमा भएको कार्यपालिका बैठकले नगरसभा गर्ने निर्णय गरेको हो। त्यसमा उहाँ पनि सहभागी हुनुहुन्थ्यो,’ उनले भने, ‘सबैलाई जस्तै उहाँलाई पनि एजेन्डासहित म्यासेज पठाएकै हो। धेरै समितिको संयोजक उहाँ हुनुहुन्छ। उहाँले नै प्रतिवेदन तयार पार्नुभयो। प्रस्तुत गर्ने वेलामा आउनुहुन्न। त्यसको जिम्मा त हामी लिन सक्दैनौँ नि !’