२०८३ बैशाख ३ गते , विहीबार

पूर्वी क्षेत्रमा विनाशकारी हावाहुरी चल्ने‚ अनावश्यक यात्रा नगर्न सुझाव

sajilo news
झापा
२०८२ चैत्र ५ गते , विहीबार
पूर्वी क्षेत्रमा विनाशकारी हावाहुरी चल्ने‚ अनावश्यक यात्रा नगर्न सुझाव

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले चैत ६ गते शुक्रवारदेखि मौसममा उल्लेख्य बदलाव आउने जानकारी दिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनको मौसम पूर्वानुमानलाई मद्देनजर गर्दै देशभरका नागरिकलाई विशेष सतर्कता अपनाउन अपील गरेको छ। जल तथा मौसम विज्ञान विभागको विवरणअनुसार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र विनाशकारी हावाहुरी चल्ने सम्भावना देखिएको छ। 

कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

चैत्र ६ गते शुक्रवार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा भारी वर्षा र हिमपात हुने सम्भावना छ। हिमाली क्षेत्रमा हुने हिमपातका कारण चिसो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ। 

लुम्बिनी र पूर्वी नेपालमा तीव्र हावाहुरीको चेतावनी

शुक्रवारदेखि लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्जसहित तराईका जिल्लामा हावाहुरीको जोखिम बढेको छ। शनिवार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

सम्भावित जोखिम र हालको अवस्था

प्रि–मनसुनको अवधि भएकाले तीव्र हावाहुरीका कारण रूखहरू ढल्ने, कमजोर संरचना र घरका छाना उड्ने, तथा विद्युत् र सञ्चार सेवा रोकिने जस्ता जोखिम रहन्छन्। जोखिमबाट बच्न प्राधिकरणले सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको छ।

सम्बन्धित समाचार