रुखले किचेर मृत्यु भएका हल्दिबारीकी आरतीको परिवारलाई सहयोग रकम जुटाउँदै ढडुवा क्लब
प्राकृतिक विपत्तिमा परेर एक किशोरीको ज्यान गएपछि झापाको हल्दीबारीमा स्थानीय स्तरमै सहयोग जुटाएर पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ। गत फागुन २९ गते आएको विपत्तिमा रुखले किचेर घरमै सुतिरहेकी हल्दीबारी गाउँपालिका–२ निवासी प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको मृत्यु भएको थियो। कक्षा १० मा अध्ययनरत उनी एसइई परीक्षाको तयारीमा थिइन्।
घटनापछि स्थानीय ढडुवा युवा क्लबले सहयोग अभियान सञ्चालन गर्दै परिवारलाई आर्थिक र मानवीय साथ दिएको छ। क्लबले घटना भएको २४ घण्टाभित्रै १५ हजार ५५५ रुपैयाँ सहयोग प्रदान गरेको थियो। त्यसपछि थप ४० हजार ३३० रुपैयाँ हस्तान्तरण गर्दै कुल ५५ हजार ८८५ रुपैयाँ परिवारलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष कुलबहादुर न्यौपानेले जानकारी दिए।
उक्त सहयोग रकम सङ्कलनमा चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयको पनि योगदान रहेको छ। विद्यालयका शिक्षक–शिक्षिकाबाट ८ हजार १०५ रुपैयाँ, पूर्व विद्यार्थी समाजबाट ६ हजार ५ रुपैयाँ र हाल अध्ययनरत विद्यार्थीबाट ३ हजार १३५ रुपैयाँ संकलन गरिएको थियो। बाँकी रकम ढडुवा युवा क्लबको पहलमा विभिन्न सामाजिक अभियन्ता तथा दाताबाट जुटाइएको हो।
सहयोग हस्तान्तरणका लागि क्लबका अध्यक्ष न्यौपाने, सचिव अभिषेक खतिवडा तथा सदस्यहरू मृतकको घरमै पुगेका थिए। सो अवसरमा परिवारको अवस्थाबारे बुझ्दै उनीहरूले सहयोग रकम हस्तान्तरण गरेका थिए।
क्लबका सचिव खतिवडाले विपत्तिको समयमा मानवीय संवेदनशीलता महत्त्वपूर्ण हुने उल्लेख गर्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले विद्यालय परिवार, पूर्व विद्यार्थी, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सक्रिय सहभागिताले अभियान प्रभावकारी बनेको बताए। पछिल्लो समय ढडुवा युवा क्लबले स्थानीय स्तरमा विभिन्न विपत्ति र सङ्कटका समयमा सहयोग जुटाउँदै आएको छ। स्थानीय तह, सङ्घसंस्था र नागरिकसँग सहकार्य गर्दै क्लबले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ।