राष्ट्रिय परिचयपत्रका आधारमा अब स्वास्थ्य बीमा सेवा
राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा उपलब्ध हुने भएको छ। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेबीच सोमबार राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
बोर्डका सूचना अधिकारी विकेश मल्लले समझादारीअनुसार राष्ट्रिय परिचयपत्र नम्बरमार्फत नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गरी स्वास्थ्य बीमा प्रणालीलाई अझ सुरक्षित, छिटो, विश्वसनीय बनाइने बताए। 'अहिलेको सम्झौताअनुसार बोर्ड र विभागको तथ्याङ्कलाई एकीकृत गर्नेछौं। त्यसपछि हामीले राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्नेछौं,' उनले भने। उनले आगामी चैत २५ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारका दर्ता र नवीकरण हुने बताए।
स्वास्थ्य बीमा बोर्डमा अहिले एक करोड दुई लाख विमित आबद्ध रहेका छन्। अहिले नागरिकता र चालक अनुमतिपत्रका आधारमा स्वास्थ्य बीमा गर्ने गरिएको छ। सूचना अधिकारी मल्लले राष्ट्रिय परिचयपत्रले बीमा दर्ता, नवीकरण तथा सेवा प्राप्त प्रक्रियालाई सरल बनाउँदै तथ्याङ्क एकीकरण, दोहोरो दर्ता नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताए।