इनिशाको हत्यारालाई कारबाही माग गर्दै काँकडभिट्टामा प्रदर्शन
बलात्कारपछि ‘हत्या गरिएकी’ सुर्खेत वीरेन्द्रनगर–१ की १६ वर्षीया इनिशा विकको हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काँकडभिट्टा प्रदर्शन गरिएको छ ।
सोमबार प्रगतिशील युवा क्लब मेचीनगर —१० धुलाबारीको अगुवाइमा मेचीनगरका विभिन्न संघ संस्थाहरूको सहभागितामा मेचीनगर—६ काँकडभिट्टामा खबरदारी सभा गरिएको हो । सहभागीहरूले ‘इनिशालाई न्याय देऊ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर, जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ, सुरक्षित सडक सुरक्षित समाज, बलात्कार विरुद्ध कडा कानून र कडा कार्यान्वयन, नारीलाई डर होइन सम्मान चाहिन्छ, नारीको सम्मान हाम्रो पहिचान’ लगायतका नारा लेखिएको प्लेट कार्ड प्रदर्शन गरेका थिए ।
लक्ष्मीनारायण मन्दिर परिसरबाट विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले ब्यानरसहित मौन र्याली शुरु गरी काँकडभिट्टा बजार परिक्रमा गरेका थिए । बजार परिक्रमापछि इलाका प्रहरी कार्यालय अघि भेला भई उनीहरूले सो जघन्य अपराधमा संलग्नमाथि कडा कारबाही गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिनका लागि सरकारलाई दबाब दिएका छन् ।