२०८३ बैशाख ३ गते , विहीबार
विद्यालय हिँडेकी दुई बालिका बिर्तामोडबाट बेपत्ता
झापाको बिर्तामोडबाट दुईजना बालिका बेपत्ता भएका छन् । देवी माविमा कक्षा ९ मा पढ्ने अर्जुनधारा नगरपालिका ५ बस्ने इन्द्रप्रसाद गौतमकी छोरी १५ वर्षीया रञ्जना गौतम र सोही ठाउँका विनोद कर्मकारकी छोरी १५ वर्षीया दृष्टि कर्मकार आइतबार बिहानदेखि बेपत्ता भएका हुन् । उनीहरू विगत दुई वर्षदेखि अर्जुनधारा ५ कञ्चन बारी टोलका हरि सापकोटाको घरमा बसेर पढ्दै आएका थिए । दुवै जनाका बुबा आमा वैदेशिक रोजगारीमा रहेका छन् ।
आइतबार बिहान ८ः१५ बजे घरबाट विद्यालय जान्छौ भनी हिँडेकोमा विद्यालय समेत नगएको र जान सक्ने सम्भावित ठाउँमा खोजी गर्दा फेला नपरेपछि घरधनी सापकोटाले राति इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका छन् । प्रहरी टोली खटिएर बालिकाहरूको खोजतलास तथा थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।