झापामा पत्रकार आचार्यमाथि आक्रमण गर्ने एमालेका पाठक पक्राउ
झापा क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार केपी ओलीको चुनावी समाचार सङ्कलन गर्न जाँदा पत्रकार अर्जुन आचार्यमाथि साङ्घातिक आक्रमण गर्ने मुख्य अभियुक्त ४५ वर्षीय युवराज पाठक पक्राउ परेका छन् ।
घटना भएको १५ दिनपछि आज बिहान प्रहरीले पाठकलाई नियन्त्रणमा लिएको हो । शिवसताक्षी नगरपालिका–४ स्थित बुलुचोकमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । झिलझिले चोकबाट झन्डै १० किलोमिटर टाढा आफन्तको घरमा बसेका पाठकलाई इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले बिहानै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको छ । फागुन १४ गते कमल गाउँपालिका वडा नं– ६ स्थित सार्वजनिक बाटोमा पत्रकारमाथि आचार्यमाथि उनले हमला गरेका थिए ।
अभद्र व्यवहार गरेको कसुरमा संलग्न झापा कमल गाउँपालिका–६ का ४५ वर्षीय पाठकलाई जिल्ला प्रशासन कार्यालय झापाबाट जारी पक्राउ पुर्जीका आधारमा आज इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले शिवसताक्षी नगरपालिका–४ बाट फेला पारी थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो। पक्राउ परेका पाठकलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी गुरुप्रसाद तिम्सिनाले बताए ।
एमाले ओलीको निर्वाचन क्षेत्रमा ‘घरदैलो’ अभियानको समाचार सङ्कलन गरिरहेका आचार्यमाथि गत फागुन १४ गते कमल गाउँपालिका–६, जीवन चोकमा आक्रमण भएको थियो । एमाले निकट भ्रातृ संगठन ‘भोलेन्टियर्स फोर्स’ का सदस्यहरूले आचार्यलाई मुक्का र बुट प्रहार गरी घाइते बनाएका थिए ।