हल्दीबारीमा रुखले किचेर मृत्यु भएकी आरतीको परिवारलाई सहयोग हस्तान्तरण
झापाको हल्दीबारी गाउँपालिका–२ पाराखोपीमा घरमै सुतिरहेको बेला आँपको रुख ढलेर १७ वर्षीया आरती राजवंशीको निधन भएको छ। मृतक आरती यस वर्षको एसइई परीक्षाको तयारी गरिरहेकी थिइन्।
प्रहरीका अनुसार गए राति अचानक आएको प्राकृतिक विपत्तिले उज्यालो भविष्य बोकेकी छात्राको जीवन असामयिक रूपमा समाप्त भयो। स्थानीयवासी र विद्यालय परिवार यस घटनाबाट स्तब्ध छन्। घटना घटेको २४ घण्टाभित्रै ढडुवा युवा क्लब परिवार हल्दीबारी–३ ले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै आर्थिक सहयोग हस्तान्तरण गरेको छ । क्लबका सचिव अभिषेक खतिवडाले भने, “घटना घटेको छोटो समयमा पीडित परिवारसँग हातेमालो गर्नु हाम्रो सामाजिक उत्तरदायित्व हो। यो सानो प्रयास भए पनि परिवारलाई राहत दिने हाम्रो प्रयास निरन्तर जारी रहनेछ। मानवता र परोपकारको भावना हामी सबैका लागि मार्गदर्शन हो।”
क्लबका अध्यक्ष कुलबहादुर न्यौपाने (गोपाल), सचिव अभिषेक खतिवडा, सामाजिक व्यक्तित्वहरू मनवीर कार्की, ओम भट्टराई, भोजराज ढुङ्गेल, रुद्र भट्टराई, गणेश नेम्वाङ र जनक राजवंशीसहितका युवाहरूले सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी भएर मृतक छात्राको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
सङ्कलन गरिएको १५ हजार ५ सय ५५ रुपैयाँ मृतकका बुबाआमा तथा परिवारलाई हस्तान्तरण गरिएको छ। स्थानीयवासीहरूका अनुसार ढडुवा युवा क्लबले पछिल्लो समय समाजमा विभिन्न सामाजिक, रचनात्मक र परोपकारी गतिविधिहरू सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आएको छ।