२०८३ बैशाख ३ गते , विहीबार
हल्दीबारीमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु
हल्दीबारीमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। हल्दीबारी गाउँपालिका–२ का ३७ वर्षीय सुनिलराम सोरेनको घरदेखि करिब पाँच सय मिटर पूर्वतर्फ रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका सोरेन राजमिस्त्रीको काम सकेर घर फर्किने क्रममा लडेर पानी जमेको खेतमा डुबेका थिए
आज बिहान करिब ७ बजे स्थानीयले शव देखेपछि नेपाल प्रहरी को प्रहरी चौकी हल्दीबारीमा खबर गरेका थिए। घटनापछि नेपाल प्रहरीको टोलीले प्रारम्भिक अनुसन्धान पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी गुरुप्रसाद तिम्सिनाले जानकारी दिए।