झापामा लागू औषधसहित पाँच जना पक्राउ
झापामा लागू औषधसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।बाह्रदशी गाउँपालिका–६ पचासबिघेबाट बिर्तामोड–८ गरामनीका २१ वर्षीय वसन्त न्यौपाने र बिर्तामोड–६ स्यालडाँगीका २५ वर्षीय राहुल लुइँटेल लागू औषधसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले मंगलबार दिनको ४ बजेको समयमा उनीहरू माथि शङ्का लागेर चेकजाँच गर्दा प्लास्टिक बाहेक ८४० मिलिग्राम खैरो हिरोइन फेला परेको थियो । त्यस्तै सोही घटनामा संलग्न अर्जुनधारा–८ का २४ वर्षीय सुजन गिरी र अर्जुनधारा–५ का २७ वर्षीय डिल्लु खड्कालाई समेत अनुसन्धानको लागि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जनाइएको छ ।
त्यस्तै मंगलबार दिनको २ः४० बजेको समयमा मेचीनगर–६ पिङ्की ठ्याकबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले भारतको पानीटंकीबाट मेची खोलाको बाटो हुँदै पैदल नेपाल तर्फ आउँदै गरेका मेचीनगर –१२ कालीझोडाका २४ वर्षीय रञ्जन सुब्बालाई शङ्का लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लास्टिक बाहेक ६६० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।