२०८३ बैशाख ३ गते , विहीबार
गौरादहका मेयरलाई घरमै गएर हातपात गर्ने एकजना पक्राउ
झापा गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीको घरमै गएर हातपात गर्ने एक जना पक्राउ परेका छन् । हिजो साँझ ७ः३० बजे गौरादह–५ राजपति चोक चप्रामारी बस्ने वर्ष ३४ का भीष्म सिटौलाले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने गौरादह नगरपालिका प्रमुख छत्रपति सुवेदीको घरमा गई गालीगलौज र हातपात गरेका थिए ।आफ्नो घरमा आएर बाहिर निस्की भन्दै आफूलाई हातपात गरेको सुवेदीले बताए ।
प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमान्डमा टोली खटिएर सिटौलालाई नियन्त्रणमा लिई इप्रका दमकमा राखिएको छ । नगर प्रमुख सुवेदीलाई हातपात गर्नुको कारण खुलिसकेको छैन ।