झापाका पाँचै क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि, बालेनले बढाए मतान्तर
झापा । झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि छन्। सुरुवाती मतगणनादेखि नै उनीहरूले निरन्तर मतान्तर बढाई रहेका छन्। जिल्लाको इलेक्सन इपिसेन्टर बनेको क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पारेका छन्।
उनीहरू बीचको मतान्तर ९ हजार २५३ रहेको छ। १८ हजार ०९७ मत गणना गर्दासम्म बालेनले ११ हजार ९४५ मत ल्याएका छन्। ओलीले २६९२ मत प्राप्त गरेका छन्। उनीहरू बीचको मतान्तर पनि क्रमशः बढिरहेको छ। नेपाली कांग्रेसका मन्धरा चिमरियाले ३३५, नेकपाका रञ्जित तामाङले ३५५, श्रम संस्कृति पार्टीका समीर तामाङले १४७७ मत ल्याएका छन्।
त्यस्तै झापा क्षेत्र नम्बर १ मा रास्वपाकी निशा डाँगीले अग्रता कायम राखेकी छिन्। डाँगीले नेपाली कांग्रेसका केशवराज पाण्डे र एमालेका रामचन्द्र उप्रेतीलाई भारी मतान्तरले पछि पारेकी छिन्। श्रम संस्कृति पार्टीका केबलराम राईले १६९८ मत ल्याएर दोस्रो स्थानमा रहेका छन्। डाँगीले ५६५८ मत ल्याउँदा पाण्डेले १४८३ र उप्रेतीले १२२८ मत ल्याएका छन्।
झापा क्षेत्र नम्बर २ मा रास्वपाकी इन्दिरा राणा मगर भारी मतान्तरले जित नजिक बढिरहेकी छिन्। निवर्तमान उपसभामुख रहेकी मगरले ५९९४ मत ल्याएकी छिन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेका देवराज घिमिरेले ९६९ मत प्राप्त गरेका छन्। उनीहरू बीचको मतान्तर ५ हजार २५ रहेको छ।
घिमिरे निवर्तमान सभामुख हुन्। नेपाली कांग्रेसकी सरिता प्रसाईँले ५९०, नेकपाकी धर्मशिला चापागाईँले ११३, श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ९२८ मत ल्याएका छन्। त्यस्तै झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई भारी मतान्तरले पछि पार्दै रास्वपाका प्रकाश पाठकले मतान्तर बढाई रहेका छन्। पाठकले ६ हजार ८८ मत ल्याएकोमा लिङ्देनले ३११४ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेका श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले १५९२ मत ल्याउँदा एमालेका हरिबहादुर राजवंशीले १२८६, नेपाली कांग्रेसका राजेन्द्र घिमिरेले १२१२ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा कुनै बेला पहिलो पार्टी रहेको कांग्रेस यस पटक पाँचौँ स्थानमा झरेको प्रारम्भिक मत परिणामले देखाएको छ।
त्यसैगरी झापा ४ मा पनि रास्वपाका उम्मेदवार शम्भुप्रसाद ढकाल अगाडि छन्। उनलाई एमालेका एलपी सावाले पछ्याइरहेका छन्। ढकालले १७७५ मत ल्याएकोमा सावाले ५७९ मत ल्याएका छन्। कांग्रेसका देउकुमार थेबेले ४५२, श्रम, संस्कृति पार्टीकी अमृतादेवी राईले १९४, नेकपाका पुरुषोत्तम चुडालले ११८ मत ल्याएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ७ लाख १३ हजार ५३७ मतदाता रहेकोमा ४ लाख ५७ हजार ४३५ जनाले मतदान गरेका छन्। अहिले पाँचै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतगणना भइरहेको जनाइएको छ।