गाडी चढ्ने क्रममा छारे रोगले भेटेपछि दमककी खुशीको मृत्यु
गाडी चढ्ने क्रममा छारे रोगले भेटेपछि दमककी एक युवतीको ललितपुरमा मृत्यु भएको छ । मेचीनगर नगरपालिका- १० घर भई दमक ४ सङ्गम टोलस्थित मामा कृष्णबहादुर अधिकारीको घरमा पढ्दै बस्दै आएकी दुर्गाबहादुर पोख्रेलकी छोरी वर्ष अन्दाजी २२ की खुशी पोख्रेलको छारे रोगका कारण ललितपुरमा मृत्यु भएको हो । गत माघ २२ गते खुशीलाई उपचार गराउन उनका मामाले ललितपुर सानापोखरीस्थित झाँक्रीकोमा लगेका थिए ।
उपचार गराई फागुन १ गते घर फर्किने क्रममा सोही स्थानमा गाडी चढ्ने क्रममा पुनः छारे रोगले भेटेपछि सोही स्थानमा नै उनको मृत्यु भएको हो । मृतकको शव हिजो बिहान ५ बजे दमक ४ सङ्गम टोलस्थित मामा घरमा ल्याई राखेको भनेर स्थानीयले खबर गरेपछि प्रहरी गएको थियो ।
आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेपछि पोस्टमार्टमपश्चात् सदगतको लागि मृतकका मामा कृष्णबहादुर अधिकारीले शव बुझिलगेको प्रहरीले जनाएको छ ।