भ्यालेन्टाइन्स डे : प्रेमको उत्सव कि बलिदानको स्मृति ?
आज फेब्रुअरी १४, विश्वभर प्रेमको पर्वका रूपमा चिनिने ‘भ्यालेन्टाइन्स डे’ । प्रेमको प्रतीक बनेको यो दिनसँग जोडिएका थुप्रै कथा, इतिहास र किंवदन्ती प्रचलित छन् । तीमध्ये सबैभन्दा चर्चित कथा रोमन साम्राज्यसँग सम्बन्धित छ, जहाँ प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनले आफ्नो जीवन बलिदान दिएका थिए ।
इतिहासकारहरूका अनुसार रोमन साम्राज्यमा सन्त भ्यालेन्टाइनलाई यही दिन मृत्युदण्ड दिइएको विश्वास गरिन्छ । उनको बलिदानको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विभिन्न देशमा ‘भ्यालेन्टाइन्स डे’ अर्थात् प्रणय दिवसका रूपमा मनाउने परम्परा सुरु भएको मानिन्छ ।
तेस्रो शताब्दीको अन्त्यतिर, सन् २७० तिर रोमन सम्राट क्लोडियस द्वितीयको शासन थियो । युद्ध र विस्तारवादमा केन्द्रित शासनकालमा उनले शक्तिशाली सेना निर्माण गर्ने योजना बनाए । तर धेरै पुरुषहरू परिवार र पत्नीप्रतिको मोहका कारण सेनामा भर्ती हुन अनिच्छुक देखिए । यसलाई कमजोरी ठान्दै क्लोडियसले विवाहले पुरुषको साहस र बुद्धि कमजोर बनाउँछ भन्ने धारणा बनाएका थिए ।
यही सोचका आधारमा उनले रोमन साम्राज्यभर विवाह र इन्गेजमेन्टमा प्रतिबन्ध लगाउने कठोर आदेश जारी गरे । तर प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनले उक्त आदेशको खुलेर विरोध गरे। उनले गोप्य रूपमा युवा प्रेमी–प्रेमिकाहरूलाई विवाह गर्न प्रेरित मात्र गर्नुभएन, विवाहसमेत गराइदिएका थिए ।
भ्यालेन्टाइनको यो कार्यलाई शासनविरुद्धको विद्रोह ठान्दै सम्राट क्लोडियसले उनलाई पक्राउ गर्न आदेश दिए । पक्राउपछिको केही समयमै उनलाई मृत्युदण्डको सजाय सुनाइयो । मृत्युअघि कारागारमा रहँदा भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीलाई एउटा प्रेमपत्र लेखेका थिए, जसको अन्त्यमा उनले “तिम्रो भ्यालेन्टाइबाट” भनेर हस्ताक्षर गरेका थिए । यही वाक्यांशलाई आधुनिक भ्यालेन्टाइन कार्डको सुरुवातका रूपमा पनि लिइन्छ । मृत्यु हुनु केही घण्टाअघि उनले जेलरलाई आफ्ना आँखाहरू उनकी छोरीलाई दान गर्न अनुरोध गरेको कथासमेत प्रचलित छ ।
अन्ततः फेब्रुअरी १४ मा भ्यालेन्टाइनलाई शिर छेदन गरी मृत्युदण्ड दिइएको थियो । उनको प्रेम, साहस र बलिदानको सम्झनामा त्यसपछि यो दिन विश्वभर ‘प्रणय दिवस’का रूपमा मनाउन थालिएको विश्वास गरिन्छ । आज भ्यालेन्टाइन्स डे केवल प्रेमी–प्रेमिकाबीचको पर्व मात्र नभई प्रेम, करुणा र मानवीय सम्बन्धको उत्सवका रूपमा स्थापित भएको छ ।