अर्जुनधारा जलेश्वर धाममा महाशिवरात्रिमा विशेष कार्यक्रम हुने
अर्जुनधारा । महाशिवरात्रि पर्वको अवसरमा आगामी फागुन ३ गते पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा नगरपालिका–७ स्थित अर्जुनधारा जलेश्वर धाममा विशेष कार्यक्रम हुने भएको छ ।
महाशिवरात्रि पर्वको तयारी बारे जानकारी दिने उद्देश्यले धाम प्राङ्गणमा आयोजित पत्रकार भेटघाटमा धाम व्यवस्थापन समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए ।
उनका अनुसार पर्वको दिन बिहान ४ बजेदेखि भगवान् शिवमा जलार्पणसहित पूजापाठ, ८ बजेदेखि २४ घण्टा अखण्ड हवनात्मक रुद्रीपाठ, महाशिवरात्रिका ४ प्रहर पूजा, श्रृंगार आरती, साँझ ७ बजेदेखि “एक साँझ शिवका माझ” भजन सन्ध्या र ४ गते बिहान ८ बजेदेखि तिलकपाती एवम् प्रसाद वितरणलगायत कार्यक्रम रहेको बताइएको छ ।
महाशिवरात्रि पर्वको महिमा बारे चर्चा, ११ जना आचार्यबाट यजमानसहितको अखण्ड हवनात्मक रुद्रीपाठ र राष्ट्रिय कलाकारद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यसँगै स्थानीय कलाकारहरूको साथमा भजन सन्ध्या हुने कार्यक्रम भएको हुँदा पर्वको विशेष महत्त्व रहेको धामका मूलअर्चक अग्निप्रसाद सिग्देलले दाबी गरे ।
यज्ञ, अनुष्ठान हवनद्वारा राष्ट्रमा शान्ति कायम, भक्तजनहरूमा भक्ति भावको विकास र वातावरण शुद्ध हुने हुँदा यस किसिमको कार्यक्रममा सहभागी हुने समितिका अध्यक्ष गट्टानीले सबैमा आह्वान गरेका छन् । उक्त कार्यक्रमको उद्घाटन धार्मिक एवम् सामाजिक व्यक्तित्व बिर्तामोडका स्थायी बासिन्दा हाल भारत निवासी विलास खतिवडाले गर्ने बताइएको छ ।
समितिका अध्यक्ष गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रममा महासचिव एवम् कार्यक्रम सञ्चालक शिवलाल खतिवडाले कार्यक्रमसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।