२०८३ बैशाख १९ गते , शनिबार

सङ्खुवासभामा पत्नीको हत्या आरोपमा पति पक्राउ

sajilo news
झापा
२०८२ मंसीर २८ गते , आईतबार
सङ्खुवासभामा पत्नीको हत्या आरोपमा पति पक्राउ

सङ्खुवासभाको मादी नगरपालिकामा कुटपिट गरी पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन्। पक्राउ पर्नेमा मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए। 

मंसिर ९ गते राति करिब १०ः३० बजे ३७ वर्षीया पत्नी मीना शेर्पा बाटोको हत्या गरी शव गाडेको घटनामा प्रेमलाई पक्राउ गरिएको मैनालीले बताए। मंसिर ९ गते मादी नगरपालिका–४ ओखरबोटे बजारबाट घर फर्कने क्रममा श्रीमती बाटोबाटै बेपत्ता भएको भन्दै प्रेमले प्रहरीचौकी मादीमा उजुरी गरेका थिए।

प्रहरीले लोग्ने प्रेममाथि शङ्का गर्दै खोजतलास तथा सोधपुछ गर्न क्रममा दोर्चीले हत्या स्वीकार गरेका थिए। पत्नीको हत्या गरेको आरोपमा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो। शेर्पालाई पक्राउ गरेपछि श्रीमतीको हत्या गरेको खुलेको हो। उनलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ। 

प्रहरीका अनुसार गत मंसिर ९ गते ओखरबोटे बजारबाट घर फर्कने क्रममा प्रेम र उनकी पत्नी मीनाबीच सामान्य विवाद भएको थियो। बाटोमै विवाद बढ्दै जाँदा कुटपिट गरी पत्नीको हत्या गरेको दोर्चीले स्वीकार गरेका छन्।

उनले श्रीमतीको हत्यापश्चात् सोही रात मादी नगरपालिका–३ स्थित आफ्नै अलैँचीबारीमा खाडल खनी त्रिपालमा बेरेर शव गाडेको बयान प्रहरीसमक्ष दिएका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार