निर्माण दिवस : झापाका अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा वितरण
१८ औँ निर्माण दिवसको अवसरमा निर्माण व्यवसायी संघ झापाले दुई स्थानमा अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
संघले झापाको अर्जुनधारास्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र र कनकाई नगरपालिका लक्ष्मीपुरस्थित हिमाली आधारभूत विद्यालयमा अध्ययनरत अपाङगता भएका विद्यार्थीहरूलाई न्यानो ट्र्याक सुट वितरण गरेको हो ।
संघका अध्यक्ष रमेश अधिकारी, निवर्तमान अध्यक्ष मिलन बस्नेत, प्रथम उपाध्यक्ष केदार गिरी, द्वितीय उपाध्यक्ष राजकुमार राई, तृतीय उपाध्यक्ष नयन बराल, महासचिव पुष्पराज निरौला, कोषाध्यक्ष यज्ञनिधि भुर्तेल, सह कोषाध्यक्ष सुरेन्द्र धिमाललगायत पदाधिकारी–सदस्यहरूले आज बिहान ती विद्यालयमा पुगेर न्यानो कपडा वितरण गरेका थिए । न्यानो कपडा वितरण कार्यक्रममा झापाका निर्माण व्यवसायीहरूको उल्लेख्य सहभागिता थियो ।
अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा १६ र हिमाली आधारभूत विद्यालयमा २१ जनालाई ट्र्याक सुट वितरण गरिएको संघका कार्यालय सचिव ज्योति पौडेलले जानकारी दिए ।
निर्माण व्यवसायी संघ झापाले विगतदेखि नै व्यावसायिक हकहितका क्रियाकलापसँगै सामाजिक कार्यहरूलाई पनि प्राथमिकताका साथ निरन्तरता दिँदै आएको बताउँदै संघका अध्यक्ष रमेश अधिकारीले आर्थिक रुपमा कमजोर र असहाय वर्गका अपांगता भएका बालबालिका अध्ययन गर्ने विद्यालय छानेर यस वर्ष न्यानो कपडा वितरण गरिएको जानकारी दिए ।
संघले निर्माण दिवस मनाउने सन्दर्भमा निर्माण क्लबको संयोजनमा कनकाईस्थित धनुषकोटीधाममा वनभोजसमेत आयोजना गरेको थियो । वनभोज स्थलमा अध्यक्ष अधिकारीको अध्यक्षतामा आयोजित औपचारिक समारोहको प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मोहनप्रसाद अधिकारीले उद्घाटन गरेका थिए । क्लबका संयोजक डम्बर फुँयलले स्वागत र सदस्य हेडम्बराज निरौला सञ्चालन गरेको समारोहमा महासचिव पुष्पराज निरौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।