२०८२ मंसीर १२ गते , शुक्रबार

गृहमन्त्रीका काकालाई डीआईजी बनाउन सशस्त्रमा नयाँ दरबन्दी!

sajilo news
पत्रपत्रिका
२०८२ मंसीर ५ गते , शुक्रबार
गृहमन्त्रीका काकालाई डीआईजी बनाउन सशस्त्रमा नयाँ दरबन्दी!

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालका काकालाई बढुवा गर्न मन्त्रिपरिषद् बैठकबाट सशस्त्र प्रहरी बलको दरबन्दी नै संशोधन गरिएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको दरबन्दी संरचना तथा तेरिज स्वीकृत गरेको हो ।

सशस्त्र प्रहरीमा कानुनतर्फका एसएसपी रहेका युवराज अर्याललाई डीआईजी बनाउन गृहमन्त्री अर्यालको प्रस्तावमा मन्त्रिपरिषद्ले नयाँ दरबन्दी सिर्जना गरेको पाइएको छ । गृहमन्त्री अर्याल र एसएसपी अर्यालका हजुरबुबा एउटै हुन् ।

गुल्मी जिल्ला ईश्मा गाउँपालिका–६ का गृहमन्त्री अर्याल र एसएसपी अर्याल नातामा काका–भतिज हुन् । एसएसपी युवराज कानुन समूहतर्फका एक मात्र बढुवा दाबेदार हुन् । यसअघि कानुनतर्फ एसएसपीसम्मको मात्रै दरबन्दी रहेकामा काकालाई डीआईजी बनाउन गृहमन्त्रीले कानुनसहित तीन नयाँ दरबन्दी सिर्जना गरेका हुन् । एसएसपी अर्यालको पदावधि अब साढे २ वर्ष बाँकी छ ।

कानुनतर्फ एक मात्र दाबेदार भएकामा अन्य दुई डीआईजीका लागि भने विपद् व्यवस्थापन महाशाखा र इन्टेलिजेन्स ब्युरोबाट बढुवा गरिने दरबन्दी संरचना तथा तेरिजमा उल्लेख गरिएको छ ।

सशस्त्र प्रहरीमा हाल २६ जना एसएसपी छन् । २६ मध्ये कानुनतर्फका भने अर्याल एक मात्र दाबेदार हुन् । मन्त्रिपरिषद्ले एसएसपीको नेतृत्वमा रहने इन्टेलिजेन्स ब्युरोमा पनि डीआईजीको दरबन्दी राख्ने निर्णय गरेको छ । त्यसैगरी, एसएसपीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन महाशाखालाई अब डीआईजीको नेतृत्वमा विपद् व्यवस्थापन निर्देशनालय बनाउने प्रस्ताव छ । डीआईजीले नेतृत्व गर्ने ब्युरो र निर्देशनालयमा भने बाँकी २५ एसएसपीबीच प्रतिस्पर्धा हुनेछ ।

सशस्त्रमा चिकित्सक र इन्जिनियर पूर्ण प्राविधिक समूह हुन् भने कानुन सेमीप्राविधिक हो । सशस्त्रमा प्राविधिकतर्फको उपल्लो पद एसएसपीसम्म मात्र छ । एसएसपी अर्याल प्राविधिकतर्फका भएका कारण उनलाई डीआईजी बनाउनकै लागि कानुनतर्र्फ डीआईजी पद सिर्जना गरिएको हो । नेपाल प्रहरीमा यही समूहको उपल्लो नेतृत्वमा एसपीको दरबन्दी छ । आजको राजधानी दैनिकमा खबर छ । 

सम्बन्धित समाचार