२०८२ मंसीर १२ गते , शुक्रबार

सुदूरपश्चिम विश्वविद्यालयको ३०० बिघा जग्गा अतिक्रमण

sajilo news
पत्रपत्रिका
२०८२ कार्तिक २३ गते , आईतबार
सुदूरपश्चिम विश्वविद्यालयको ३०० बिघा जग्गा अतिक्रमण

कञ्चनपुरपस्थित सुदूरपश्चिम विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ। भएको जग्गा विभिन्न समूहले अतिक्रमण गरेर भोगचलन गरिरहँदा विश्वविद्यालय आफैँ भने साँघुरो जग्गामा संरचना बनाएर सञ्चालन भइरहेको छ। 

विश्वविद्यालयको क्याम्पसका रूपमा रहेको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमणमा परेको विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले बताए। क्याम्पसको नाममा तीन सय ८० बिघा जग्गाको लालपुर्जा  रहेको छ। सुरुमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर सामुदायिक रूपमा सञ्चालित उक्त क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयले २०७५ साल साउन १ गतेदेखि आङ्गिक क्याम्पस बनाएको थियो।  

विश्वविद्यालयका अनुसार स्थानीय राजनीतिक दलकै प्रत्यक्ष संलग्नतामा जग्गा अतिक्रमणमा परेको हो। अतिक्रमित जग्गाको केही भाग सुकुमबासीले कब्जा गरेको भए पनि अधिकांशमा भने राजनीतिक दलका व्यक्तिको संलग्नता देखिएको छ। 

अतिक्रमणमा परेको जग्गामा थुप्रै संरचना बनिसकेको छ। विद्युत् प्राधिकरणले बत्तीसमेत जोडिदिएको छ भने दुई वटा प्राथमिक तहको सरकारी स्कुलसमेत अतिक्रमित जग्गामा सञ्चालनमा रहेको टीकापुर बहुमुखी क्याम्पसका प्रमुख धविन्द्र रावलले बताए। उनका अनुसार विगतमा खानेपानी संस्थानले समेत विश्वविद्यालयकै जग्गामा कार्यालय स्थापना गरेको थियो। क्याम्पसले विरोध गरेपछि यो कार्यालय हटेको छ। उक्त क्षेत्रमा प्रशस्तै रुखबिरुवा थिए। अतिक्रमण हुन थालेपछि ती रुख काटिएका छन्। 

अतिक्रमणमा परेको जग्गा फिर्ता गराउन पटक पटक पहल गर्दा पनि नसकेपछि विश्वविद्यालयले अघिल्लो सरकारको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, वन मन्त्रालय, भूमिसुधार मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लिखित निवेदन दिएर जग्गा फिर्ताको पहल गरिदिन अनुरोध गरेको थियो। क्याम्पस प्रमुख रावलका अनुसार ती ठाउँमा पाँच हजारभन्दा बढी परिवार बसेका छन्। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित समाचार