प्रज्ञा एकाडेमीको उदाहरणीय कार्य : जेनजी आन्दोलनमा ध्वस्त वडा प्रहरी कार्यालयलाई साइकल, खाट र कम्प्युटर
भद्रपुर । भद्रपुर–९ चन्द्रगढीस्थित प्रज्ञा एकाडेमीले वडा प्रहरी कार्यालय भद्रपुरलाई बुधवार एक कार्यक्रमका बीच सहयोग सामग्री वितरण गरेको छ । गत भदौ २३ र २४ गते जेनजी समूहको शान्तिपूर्ण आन्दोलनको क्रममा केही उच्छृङ्खल समूहले वडा प्रहरी कार्यालय भद्रपुरमा आगजनी गरी ध्वस्त बनाएको थियो । ध्वस्त बनाएको वडा प्रहरी कार्यालय पुनर्निर्माणमा यहाँका स्थानीय युवायुवतीहरू सक्रियता साथ लागे र भवन पुनर्निर्माणमा पश्चात् पुनः प्रहरी ल्याउन सफल भएका थिए ।
नगरको शान्ति सुरक्षाका लागि वडा प्रहरीलाई चाहिने आवश्यक सामग्री अभाव भइरहेको बेला प्रज्ञा एकाडेमीले सामाजिक उत्तरदायित्व तथा मूल्य शिक्षा अन्तर्गत एक थान डेस्क–टप कम्प्युटर, ५ थान फलामे खाट, ४ थान हिरोजेड साइकल, १४ थान लङ डिस्टेन्ट टर्च प्रदान गरेको विद्यालयका प्रिन्सिपल इशुभ पाण्डेले जानकारी दिए । विद्यालय केवल पठनपाठनको केन्द्र मात्र होइन । सामाजिक जिम्मेवारी र मूल्य शिक्षाको पनि अभ्यास स्थल हो भन्ने भावनालाई आत्मसाथ गरी निरन्तर सहयोग सामग्री वितरण गर्दै आइरहेको उनले बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शिला खडकाको अध्यक्षतामा भएको कार्यक्रममा सो सहयोग सामग्रीहरू प्रज्ञा एकाडेमी व्यवस्थापन समितिका अध्यक्ष माया पाण्डे, अभिभावक संघका अध्यक्ष जीवनकुमार श्रेष्ठ, विद्यालयका प्रिन्सिपल इशुभ पाण्डे, उनका मातापिता मोहन कुमाईं र सीता पाण्डे लगायतले वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योञ्जन तामाङलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै वक्ताहरूले जनताको सेवामा अहोरात्र खटिने नेपाल प्रहरीलाई सहयोग सामग्री उपलब्ध गराएकोमा प्रज्ञा एकाडेमीको प्रशंसा गरेका थिए ।
प्रज्ञा एकाडेमीले भद्रपुर क्षेत्रमा गुणस्तरीय शिक्षा र सामुदायिक उत्तरदायित्व बहन गर्न निरन्तर लागि परेको अभिभावक संघका जीवनकुमार श्रेष्ठले बताए । ‘म आफ्नै नगर प्रमुख भएको बेला कोभिड–१९ महामारीको समयमा प्रज्ञा एकाडेमीले भद्रपुर नगरपालिकालाई नगरवासीको निःशुल्क सुविधाका लागि एउटा एम्बुलेन्स उपलब्ध गराएको थियो,’ उनले भने । त्यति मात्र नभएर प्रज्ञाले आफ्नो सामाजिक उत्तरदायित्व तथा मूल्य शिक्षा अन्तर्गत भद्रपुरका सामुदायिक विद्यालयतर्फ वीरेन्द्र माविका कक्षा ५ सम्मका सबै विद्यार्थीलाई निःशुल्क ब्याग, भृकुटी प्राविलाई सुइटर, मेचीपारि आधारभूत विद्यालयलाई खेलकुद सामग्री । घोडामाराको विद्यालयलाई पङ्खा वितरण गरिसकेको छ ।