महाभारतमा कर्णको भूमिका निभाएका अभिनेता पंकज धीरको निधन
बहुचर्चित हिन्दी टेलिश्रृंखला महाभारतमा कर्णको भूमिकामा रहेका चर्चित अभिनेता पंकज धीरको निधन भएको छ। बुधबार बिहान उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ६८ वर्षीय पंकज लामो समयदेखि क्यान्सरबाट पीडित थिए केही महिनाअगाडि उनको मेजर अप्रेसन गरिएको थियो।
सन् १९८८ मा दूरदर्शनमा प्रसारित बीआर चोपडाको टीभी सिरियल ‘महाभारत’ मा कर्णको भूमिका निभाएपछि उनी लोकप्रिय भएका थिए।
एक अन्तरवार्तामा उनले बीआर चोपडाले शुरुमा आफूलाई अर्जुनको भूमिका दिएको बताएका छन्। कुनै एक सन्दर्भमा जुँगा काट्नुपर्ने प्रस्ताव अस्वीकार गरेपछि चोपडाले आफूलाई निकालेको स्मरण गरेका छन्। पछि उनै चोपडाले बोलाएर कर्णको भूमिका दिएको सम्झना गरेका छन्। ‘जुँगा त काट्नुपर्दैन नि’ भनेर सोधेको उनले बताएका छन्।
महाभारतमा कर्णको भूमिका दु:खी पात्रको रूपमा छ। जन्मिएलगत्तै आमाबाट नदीमा बगाइनु, सुतको घरमा हुर्किनु, युद्धकलामा निपुण भए पनि गुरुबाट श्राप पाउनु र अन्त्यमा आफ्नै भाइ अर्जुनबाट मारिनुले उनलाई कारुणिक पात्रका रूपमा चित्रण गरिएको छ। टीभी सिरियल ‘महाभारत’ मायो भूमिका निभाएपछि कतिपय गाउँमा जाँदा आफूलाई देवतासरह मानेको र आफ्नो मुहार आकृतिका मूर्ति मन्दिरमा राखेको देखेर भावुक बनेको समेत पंकजले बताएका छन्।
महाभारतबाहेक उनले चन्द्रकान्ता, द ग्रेट मराठा,कानून, रंग बदलती ओढनी, राजाकी आएगी बारात आदि थुप्रै टेलिश्रृंखलामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरे। पञ्जाबमा जन्मिएका धीरले सडक, सनम बेवफा बादशाह, सोल्जर, अन्दाजलगायत फिल्ममा पनि काम गरे तर ख्याति भने सानो पर्दाबाटै पाए। उनको अन्तिम संस्कार बुधबार नै मुम्बईको विले पार्लेस्थित श्मशान गृहमा गरिएको छ।