‘कान्तारा च्याप्टर-१’ को बक्स अफिसमा धमाकेदार प्रदर्शन

कन्नड सुपरहिट चलचित्र ‘कान्तारा च्याप्टर १’ ले बक्स अफिसमा धमाकेदार प्रदर्शन जारी राखेको छ । हिन्दूस्तान टाइम्सका अनुसार यो चलचित्रले विश्वभरबाट ४१४ करोड भारतीय रुपैयाँ संकलन गरिसकेको छ । भारतभित्र मात्रै यसको ६ दिनको नेट आम्दानी २९०.२५ करोड पुगेको छ भने ग्रस कलेक्सन ३४८ करोड नाघेको छ । अन्तर्राष्ट्रिय बजारको आम्दानी थपिँदा कुल विश्वव्यापी संकलन ४१४ करोड पुगेको हो ।
चलचित्रले आइतबारकै दिन ‘केजिएफ च्याप्टर १’ को लाइफटाइम कमाइ पार गरेको थियो । मंगलबारको प्रदर्शनपछि यसले सन् २०२२ को ब्लकबस्टर ‘कान्तारा’ (४०८ करोड) लाई समेत उछिन्दै कन्नड फिल्ममध्ये ‘केजिएफ च्याप्टर २’ (१२५० करोड) पछिको दोस्रो सर्वाधिक आम्दानी गर्ने फिल्मको सूचीमा नाम लेखाएको छ ।
ऋषभ शेट्टीद्वारा लेखन र निर्देशन गरिएको यस चलचित्रमा उहाँ स्वयं मुख्य भूमिकामा हुनुहुन्छ । उहाँका साथमा रुक्मिणी वसन्त, जयराम र गुलशन देवैया प्रमुख पात्रका रूपमा देखिनुभएको छ । सन् २०२२ को ‘कान्तारा’ को सिक्वेलका रूपमा आएको ‘कान्तारा च्याप्टर १’ ले पुनः कन्नड सिनेमालाई विश्वस्तरमा उजागर गरेको छ ।