अभिनेत्री दिशा पटानी घरमा गोली हान्ने दुई जना मारिए
मुम्बई । बलिउड अभिनेत्री दिशा पटानीले आफ्नो घरमा गोली हान्ने दुई जना मारिएको जनाएकी छिन् । उनले बाँकी दुई जनालाई पनि चाँडो भन्दा चाँडो प्रहरी पक्रेर सशक्त कारबाही गर्नु पर्ने बताएकी छिन् । उत्तर प्रदेशको बरेलीमा रहेको यी अभिनेत्रीको घरमा भएको गोलाबारी घटनाको अनुसन्धान जारी राखेको प्रहरीले जवाफ दिएको छ ।
प्रहरी अनुसन्धानले घटना हुनुभन्दा अगाडि चार जना बन्दुकधारी १० सेप्टेम्बर साँझ ६ बजेतिर बरेली आइपुगेको खुलासा गरेको छ । तीमध्ये दुई जना होटल प्रीतमा र दुई जना होटल हिन्दमा बसेको प्रहरीले जनाएको छ । उनीहरूले भोलिपल्टै योजना बनाएर ११ सेप्टेम्बरमा अभिनेत्री दिशाको घरमा गोली चलाएका थिए ।
रिपोर्ट अनुसार नकुल र विजय तोमरले त्यो दिन दिशा पटानीको घरमा एक पटक गोली हानेर भागेका थिए । तर त्यो गोलाबारीबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रहरी रिपोर्ट अनुसार त्यसको भोलीपल्ट १२ सेप्टेम्बरमा हरियाणाका ‘साफ सुटर’ रवीन्द्र उर्फ कल्लु र अरुण बरेली स्थित दिशाको घर अगाडि पुगेका थिए । यस पटक, उनीहरूले दिशाको घरमा अन्धाधुन्ध गोलाबारी गरे । जसले गर्दा सो क्षेत्रमै आतंक फैलियो । त्यति बेला नकुल र विजयले ‘ब्याकअप’को रूपमा नजिकै उभिएर कल्लु र अरुणलाई निर्देशन दिएका थिए ।
गोलाबारी पछि दुई वटा मोटरसाइकलमा चढेर चारै जना त्यहाँबाट रामपुरतिर भागेका थिए । उनीहरू भिडभाड भएको सहरी क्षेत्रलाई बेवास्ता गर्दै गाउँको बाटो हुँदै राजमार्गबाट सहर बाहिर निक्लेका थिए । नकुल र विजय सुपर स्प्लेन्डर बाइकमा तथा रवीन्द्र र अरुण अपाचे बाइकमा रहेको पनि प्रहरीले जनाएको छ ।
यी चार जना मध्य रवीन्द्र र अरुणलाई एक मुठभेडमा प्रहरीले बुधवार राति मारेको छ । दुवै हरियाणाका बासिन्दा थिए । बधुबार राति, यूपी स्पेशल टास्क फोर्स (एसटीएफ), दिल्ली प्रहरी अपराध शाखा र हरियाणा प्रहरीको संयुक्त टोलीले यी दुईलाई गोली हानेर ढालेको हो ।
बाँकी दुई बागपतका बासिन्दा नकुल र विजय तोमर अझै फरार छन् । बरेली प्रहरीले उनीहरूको टाउकोको मूल्य १–१ लाख रुपैयाँको तोकेर पुरस्कार घोषणा गरेको छ । यी दुईलाई पक्रन प्रहरी टोलीहरूले छापा मारिरहेका छन् र उनीहरूलाई चाँडै पक्राउ गरिने दाबी गरिएको छ ।