श्रीमानको मृत्युको खबर सुनेको ३ दिनमै श्रीमतीको मृत्यु
आमाबुवा गुमाएपछि बेसहरा तीन छोरी
धनकुटा । महालक्ष्मी नगरपालिका–१ कटहरे, सिप्रिङ गाउँ यतिवेला शोकमा डुबेको छ। गाउँमा एक परिवारका सदस्यले आफ्ना अभिभावक गुमाएपछि उनीहरूका सन्तान मात्रै होइन, पूरै गाउँ शोकमा डुबेको छ।
महालक्ष्मी नगरपालिका केन्द्र जितपुर बजारबाट ढोडे हुँदै सिप्रिङ पुगिन्छ। बीचमा लक्ष्मी खोला बग्छ। पारि सिप्रिङ गाउँ छ भने वारि ढोडे। सिप्रिङ गाउँमा १७ घर छन्। ती सबै घर मगर समुदायका हुन्। सोही गाउँमा डम्बरबहादुर मगर र विद्या मगरको परिवार बसोबास गर्दै आइरहेका थिए। सिप्रिङ गाउँका ४२ वर्षीय डम्बरबहादुर मगरको वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका बेला गत भदौ ३ गते मृत्यु भयो।
डम्बरबहादुरको मृत्यु भएको खबर पाएको तीन दिन नबित्दै भदौ ७ गते उनकी श्रीमती विद्या मगरको पनि मृत्यु भयो। करिब तीन दिनको अन्तरालमा श्रीमान् डम्बरबहादुर र श्रीमती विद्याको मृत्यु भयो। परिवारका सदस्यले विद्याको काजकिरिया गरे पनि डम्बरबहादुर शव कुवेतमा नै रहेका कारण काजकिरिया भएको छैन। आमाको काजकिरिया गरिसकेका परिवारका सदस्य कहिले बुबाको शव आउँला र काजकिरिया गर्न पाइएला भन्ने पर्खाइमा छन्।
अभिभावक गुमाएपछि तीन छोरी अहिले बेसहरा बनेका छन्। उनीहरूका जेठी छोरी १६ वर्षकी विपना मगर, १५ वर्षकी सञ्जु मगर र २ वर्षकी संयुक्ता मगर हुन्। बुबा डम्बरबहादुर विदेश गएपछि २ वर्षकी छोरी संयुक्ता र आमा विद्या मात्रै घर बस्थे। उनीहरूका दुई छोरी विपिना र सञ्जु अध्ययनका लागि धनकुटा सदरमुकाम बसेका थिए। दुई छोरी प्लस टु पढ्ने भएका छन्। कान्छी छोरी दुई वर्षकी छिन्। दुई वर्षको छोरी देख्दा जोकोहीको आँखा रसाउँछ। सानी छोरीलाई बुबाआमा गुमाएको पत्तै छैन।
तीन दिनको अन्तरालमा बहिनीज्वाइँलाई गुमाउँदा अहिलेसम्म विश्वास नै नलागेको विद्याका दाजु गणेशबहादुर मगरले बताए। भान्जीहरू देख्दा बहिनी ज्वाइँलाई झलझली सम्झिन्छु। आँखा रसाइहाल्छ। अन्नपूर्णसँग फोनमा कुरा गर्दासमेत उनी भक्कानिए। ‘घरको कमाइ गर्ने अभिभावक गुमाउँदा भान्जीहरूलाई कस्तो पीडा परेको होला ! सम्झिन्छु आँसु आइहाल्छ। हामी आफन्त सबैलाई पीडा भएको छ’, उनले भने।
कुवेतबाट श्रीमान्को मृत्युको खबर पाएपछि विद्या विक्षिप्त बनेकी थिइन्। श्रीमान् मृत्युको खबरले बेहोस् बनेकी थिइन, विद्या। उपचारका लागि महालक्ष्मी नगरपालिका केन्द्र जितपुरस्थित नगर अस्पतालमा पु¥याउना साथ अस्पतालले मृत घोषण गरिदिएको मृतक विद्याकी दाजु गणेशबहादुर मगरले बताइन्। ‘शुक्रबार फोनमा कुरा गर्दा बहिनीलाई हामी छौं धेरै चिन्ता नलिनु। छोरीहरू छन् भनेर सहानुभूति दिलाए। तर, शनिबार एक्कासि बहिनीको खबर सुन्दा छक्क परेँ’, उनले भने।
पारिवारिक अवस्था
डम्बरबहादुर मगरका बुबा हरिबहादुर मगरको तीन महिनाअघि जेठमा मात्रै मृत्यु भएको थियो। मृतक हरिबहादुर मगरका चार छोरामध्ये डम्बरबहादुर साहिँला छोरा हुन्। डम्बरका दाजुभाइहरू छुट्टिसकेका छन्। उनका दुई दाजुमध्ये जेठा गाईघाटमा बस्छन्। माइला घरमै छन् भने कान्छा भाइ वैदेशिक रोजगारीको सिलसिलामा विदेश छन्।
दाजुभाइसँग छुट्टिएर डम्बरबहादुर श्रीमती र तीन छोरीसहित बेग्लै बस्थे। उनीहरूका ३ छोरी छन्। दुई वर्षअघि विदेश गएका थिए, डम्बर। तीन छोरीमध्ये जेठी र माइली छोरी धनकुटा सदरमुकामस्थित गोकुण्डेश्वर बालमन्दिर विद्यालयमा शिक्षा संकायको कक्षा १२ र ११ मा अध्ययनरत थिए। दुई वर्षकी कान्छी छोरी आमा विद्यासँगै गाउँमा बस्थिन्। अहिले बुबा र आमाको मृत्यु भएपछि तीन छोरीहरू हजुरआमासहित आफन्तसँग घरमा बस्दै आएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।