यी दुई नेपाली युवालाई मलेसियाको भ्रष्टाचार विरोधी आयोगले किन खोज्दै छ ?
बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली कामदारलाई त्यहाँको भ्रष्टाचार विरोधी आयोग(एमएसीसी)ले ‘मस्ट वान्टेड’ सूचीमा राखेर खोजी गरेको छ। मलेसियाली भ्रष्टाचार विरोधी आयोग (एमएसीसी) ले भ्रष्टाचार मुद्दाको अनुसन्धानमा सहयोग गर्न दुई नेपाली पुरुषहरूलाई खोजी गरिरहेको जनाएको छ।
एमएसीसीले एक विज्ञप्ति जारी गर्दै अम्बर बहादुर उर्फ मिजार र अम्मर बहाद सिंहलाई ‘मस्ट वान्टेड’ को सूचीमा राखेर खोजीकार्य गरिरहेको जनाएको छ। उनीहरुको अन्तिम ठेगाना प्लेटिनम स्प्लेन्डर रेसिडेन्सी, जालान सेमारक, क्वालालम्पुरमा रहेको समेत एमएसीसीले जनाएको छ।
उनीहरुको बारेमा कुनै जानकारी भएका वा चिन्ने जनतालाई अनुसन्धान अधिकारी मोहम्मद हाफिफी रहमतलाई ०३-९२०६५००० मा सम्पर्क गर्न अनुरोध गरिएको छ। एमएसीसीले मुद्दाको अनुसन्धान पूरा गर्न समुदायको सहयोग धेरै महत्त्वपूर्ण रहेको भन्दै उनीहरुलाई देखेमा खबर गर्न भनेको छ।
उनीहरुले के अपराध गरे भन्ने बारेमा केहि खुलाईएको छ। केहि महिना अघि पनि मलाक्का अध्यागमन विभागले कानुन उलंघन गरेर फरार भएको दिल बहादुर सिंजाली मगर र रबिना राईलाई ‘मस्ट वान्टेड’ सूचीमा राखेर खोजीकार्य गरेको थियो।
मलेसियामा साथीभाइसितको कुलत र छिटै धनी बन्ने महत्त्वाकांक्षाका कारण नेपाली कामदार फस्ने गरेको छन्। मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्या लगायत कारण नेपाली जेल पर्ने गरेका छन् ।
क्वालालम्पुरस्थित नेपाली दूतावासकी काउन्सेलर तथा नियोग उप-प्रमुख मुदिता बज्राचार्यका अनुसार अहिले १६४ नेपाली मलेसियाको जेलमा छन्। ती मध्ये हत्या अभियोगमा १९ ,फौजदारीमा ३१,लागुऔषधमा २८, लागुऔषध र मिश्रित २१ र आप्रवासन सम्बन्धी मुद्धामा ६५ जना नेपाली रहेका छन्।
अवैध रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म कैद सजाय हुने र कैद भुक्तानपछि डिपोर्ट गर्ने गरेको छ । राजधानी दैनिकमा यो खबर छ ।