२०८२ मंसीर १२ गते , शुक्रबार

एक महिनामै नेपालीको हातमा साढे ३ अर्बको स्मार्ट फोन

sajilo news
पत्रपत्रिका
२०८२ भाद्र ८ गते , आईतबार
एक महिनामै नेपालीको हातमा साढे ३ अर्बको स्मार्ट फोन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा करिब शतप्रतिशत निर्यात बढ्दा पनि व्यापार घाटा भने घट्न सकेको छैन । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब १९ अर्ब १० करोड रुपैयाँ व्यापार घाटा भएको छ ।

गत वर्षको पहिलो महिनाको तुलनामा ९५.७५ प्रतिशतले निर्यात बढे पनि व्यापार घाटा भने चुलिएको हो । गत वर्षको साउनमा १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात भएकोमा अहिलेको साउनमा भने १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख रुपैयाँको आयात भएको छ । भन्सार विभागका अनुसार आयातमा ११ दशमलव ४२ प्रतिशतले बढेको छ ।

गत वर्षको साउनमा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएकोमा अहिले भने २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँको निर्यात भएको छ ।

साउनको आयात–निर्यात हिसाब

– ८ देशसँगको व्यापार नाफामा

– धेरै घाटा भारत र चीनसँग

– सवा खर्बको व्यापार घाटा

– डेढ अर्बको भटमास आयात

– अढाई अर्बको धान–चामल आयात

– मकै किन्दा सकियो १ अर्ब ५४ रुपैयाँ

– गलैँचा बेचेर ५५ करोड रुपैयाँ आम्दानी

– चिया बेच्दा नेपाल भित्रियो ३४ करोड रुपैयाँ

साउनमा मात्रै १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँको व्यापार घाटा भएको छ । यो गत वर्षको साउनको तुलनामा ३ अर्बले बढी हो । गत वर्षको साउनमा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख रुपैयाँको मात्र व्यापार घाटा भएको थियो ।

गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको आयात र निर्यात दुवै बढेको छ । विभागका अनुसार गत साउनमा भारतसँग मात्रै ६४ अर्ब ८ करोड ७८ लाख रुपैयाँको व्यापार घाटा छ । गत वर्षको तुलनामा भारतसँग व्यापार घाटामा ६ अर्बले कमी आएको छ । गत वर्षको साउनमा भारतसँग ७० अर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा थियो ।

साउनमा भारतबाट ८३ अर्ब ५३ करोड ९९ लाख रुपैयाँको आयात भएको थियो । गत वर्षको साउनमा भने भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

भारतबाट आयात बढेसँगै निर्यात पनि बढेकाले यस वर्ष भारतसँग ६ अर्ब रुपैयाँको व्यापार घाटामा कमी आएको हो । गत वर्षको साउनमा नेपालले ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँको वस्तु निर्यात गरेकोमा यस वर्ष १९ अर्ब ४५ करोड २० लाख रुपैयाँको निर्यात भएको छ । गत वर्षको तुलनामा यस वर्ष १२ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भारततर्फ भएको छ ।

भारतपछि चीनसँग २७ अर्ब ९४ करोड १२ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । गत वर्षको साउनमा चीनसँग २४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ बराबरको मात्र व्यापार घाटा थियो । चीनबाट गत वर्षको साउनमा २४ अर्ब ५४ करोड २३ लाख रुपैयाँको आयात भएकोमा यस वर्ष २७ अर्ब ९९ करोड ६० लाख रुपैयाँको आयात भएको छ । गत वर्ष चीनतर्फ १५ करोड ७६ लाख रुपैयाँ बराबरको निर्यात भएकोमा यस वर्ष ५ करोड ४८ लाख रुपैयाँको मात्र निर्यात भएको छ ।

भन्सार विभागका अनुसार अर्जेन्टिनासँग ९ अर्ब १२ करोड ९७ लाख रुपैयाँ, कतारसँग २ अर्ब ४६ करोड रुपैयाँ, य यूएईसँग १ अर्ब ८३ करोड ८० लाख रुपैयाँ, इन्डोनेसियासँग १ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ, ब्राजिलसँग १ अर्ब ४९ करोड ३० लाख रुपैयाँ, थाइल्यान्डसँग १ अर्ब १२ करोड ५ लाख रुपैयाँ व्यापार घाटा रहेको छ । यसैगरी मलेसियासँग १ अर्ब ८ करोड रुपैयाँ र जापानसँग ८८ करोड रुपैयाँको व्यापार घाटा छ ।

युक्रेनसँग गत वर्षको साउनमा २ अर्ब ३० करोड रुपैयाँ व्यापार घाटा रहेकामा अहिले भने ४९ करोड ५८ लाख रुपैयाँको मात्र व्यापार घाटा छ ।

व्यापार नाफा भएका मुलुकहरूमा डेनमार्क, जर्मनी, अफगानिस्तान, अमेरिका, रसिया, बेल्जियम, नर्वे, हङकङ छन् । सबैभन्दा बढी व्यापार नाफा भएको मुलुक डेनमार्कसँग ९ करोड ६० लाख रुपैयाँ रहेको छ । आजको राजधानी दैनिकमा खबर छ । 

सम्बन्धित समाचार